तेमालमा एकलौटी सडक उपभोक्ता समिति गठन


तेमाल गाउँपालिका अध्यक्ष सलामसिंह तामाङमाथि एकलौटीरूपमा सडक उपभोक्ता समिति गठन गरेको आरोप लगाइएको छ । तेमाल गाउँपालिकास्थित बोहोरेदोभान–ठूलोपर्सेल–तित्रीटार सडक मर्मत तथा स्तरोन्नतिका लागि अध्यक्ष तामाङले एउटै वडाका आफन्तसहितलाई राखी उपभोक्ता समिति गठन गरेको आरोप लगाइएको हो ।

पाँचवटै वडाका स्थानीयवासी राखेर उपभोक्ता समिति गठन गर्नुपर्नेमा अध्यक्ष तामाङले वडा नं ६ का आफन्त राखेर एकलौटीरूपमा उपभोक्ता समिति गठन गरेको स्थानीयवासीले आरोप लगाएका हुन् । रु ८० लाख विनियोजित बजेट रहेको उक्त सडक उपभोक्ता समितिमा अध्यक्षले नाताका भाइ मनिल तामाङलाई अध्यक्ष र भतिजा नीरबहादुर तामाङलाई सचिव बनाएको समेत आरोप लगाइएको छ । गठित समितिमा वडा नं ६ का व्यक्तिमात्रै रहेको जनाइएको छ ।

उक्त बजेटबाट हाल मर्मत गर्नुपर्ने सडक ३५ किलोमिटर लम्बाइको छ । स्थानीयवासीले हरिशरण भण्डारीको संयोजकत्वमा यही फागन १५ गते सडक सङ्घषर््ा समिति गठन गरी एकलौटी उपभोक्ता समिति गठनका विरुद्धमा उत्रिएका हुन् । समितिद्वारा मङ्गलबार बनेपामा पत्रकार सम्मलेन गरी सडकबाट लाभान्वित सबै वडाको प्रतिनिधित्व गराई भेलामार्फत उपभोक्ता समिति पुनःगठन गर्न माग गरे । “उपभोक्ता समितिबारे गाउँपालिकाका अध्यक्षसँग बुझ्न जाँदा समितिको फाइल मसँग छ, तपाईँहरुलाई किन चाहियो, जे गर्न सक्नुहुन्छ गर्नुस् भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नुभयो”, सङ्घर्ष समितिका संयोजक भण्डारीले सञ्चारकर्मीसँग भन्नुभयो ।

भण्डारीका अनुसार सडकबाट लाभान्वित सबै वडाको प्रतिनिधित्व गराई नीति–विधिसम्मत उपभोक्ता समिति पुनःगठन गर्न माग गर्दै वडा नं १ का अध्यक्ष मानबहादुर श्रेष्ठले स्थानीय न्यायिक समितिलाई लेखिएको निवेदनसमेत गाउँपालिका अध्यक्षले दर्ता नगर्न आदेश दिनुभएको थियो । सङ्घर्ष समितिद्वारा सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा सर्वपक्षीय भेलामार्फत उपभोक्ता समिति गठन नगरी अध्यक्षद्वारा एकलौटीरूपमा गठित समितिले सडकको काम शुरु गरे त्यसविरुद्ध हुन जाने अप्रिय घटनाको जिम्मेवार स्वयं गाउँपालिकाले नै लिनुपर्ने उल्लेख गरिएको छ ।

गाउँपालिकाद्वारा उक्त सडकका लागि विनियोजित रु एक करोड बजेटबाट वडा नं २ स्थित अर्को योजनामा रु २० लाख राखेर वडा नं ३ का बासिन्दाको उपभोक्ता समिति गठन गरेकोसमेत सम्मेलनमा जानकारी गराइयो । वडा नं २ को याङ्वेलखोला पहिरो व्यवस्थापन गर्न वडा नं ३ का अध्यक्ष विष्णु तामाङले आफ्नो वडाका व्यक्ति राखेर उपभोक्ता समिति बनाएको स्थानीय साइला तामाङले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष तामाङले आफुले भेला गराएरै उपभोक्ता समिति गठन गरिएको दावी गर्नुभयो । स्थानीयवासीले लगाएको आरोपझैँ आफन्तलाई समितिमा समेत नराखिएको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो “कसैले आरोप लाएर हुन्न, मैले कसलाई के के चाहिने हो तपाईँ मिलाएर आउनुस् भनेको मात्रै हुँ, धम्क्याएको छैन ।” उहाँले वडा नं २ को योजनाका लागि वडा नं ३ का व्यक्ति राखेर समिति बनाएको भए आफुले बुझ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस