दोहरो नागरिकता लिने पक्राउ


दोहोरो नागरिकता लिने कसूर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका–८ बैरियाही बस्ने बैकु ठाकुरको छोरा ३२ वर्षीय जिबछ ठाकुरलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनअन्तर्गत खोजतलास गर्ने क्रममा ठाकुरलाई उनकै घरबाट फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

जिल्ला अदालतमा उपस्थित गराइएका ठाकुरलाई अदालतले कैद भुक्तानका लागि राजविराज कारागारका थुनामा पठाएको छ । जिल्ला अदालतले २०७२ वैशाख १४ गते एक वर्ष कैद र रु २० हजार जरिवाना गर्ने सजाय सुनाएको थियो ।

४८ कार्टुन मदिरा बरामद

सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीबाट आज ४८ कार्टुन अवैध मदिरा बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय पातो, सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलीले जनता माध्यमिक विद्यालयको पछाडिको गोरेटो बाटोबाट ४८ कार्टुन रहेको १६ बोरा मदिरा बरामद गरेको जनाएको छ । बोराभित्र रहेको कार्टुनमा एक हजार ४०० बोतल गौरव र कस्तुरी नामक मदिरा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

टाउकोमा बोकी तरही बजार हुँदै अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देख्नासाथ भरियाहरु मदिरा फाली फरार भएको प्रहरीले जनाएको छ । बरामद भएका मदिरा आवश्यक कारबाहीका लागि आजै तिलाठी कोइलाडीस्थित राजविराज भन्सार कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस