म्याग्देमा कभर्ड हल निर्माण


तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुमा कभर्डहल निर्माण सम्पन्न गरिएको छ । उक्त कभर्डहलको आज पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा नेता भण्डारीले खेलकूद पूर्वाधार निर्माणका लागि स्थानीय तहले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । स्थानीय स्तरमा खेलकुद पूर्वाधार निर्माण भए मात्रै राष्ट्रले दक्ष खेलाडी प्राप्त गर्न सक्ने उहाँको भनाइ थियो । नेता भण्डारीले खेल क्षेत्रले विश्वमाझ नेपाललाई चिनाएको जनाउँदै सरकारले खेलकूद क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताउनुभयो ।

नेता भण्डारीले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य रहेको चर्चा गर्नुभयो । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले खेलकूद सँगसँगै सबै क्षेत्रको विकासका लागि गाउँपालिका निरन्तर लागिरहेको बताउनुभयो । सोही अवसरमा थर्पु युवा क्लबले आयोजना गरेको व्याडमिन्टन कपको उद्घाटन गरिएको छ । क्लबका अध्यक्ष कुशल थापाले रु २७ लाखको लागतमा कभर्डहल निर्माण गरिएको जानकारी दिनुभयो ।

औषधि खरीदमा समस्या

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बीमा वापतको रु एक करोड भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ । बीमा गरेका सर्वसाधारणले उपचार केन्द्रबाट निःशुल्क औषधि पाए पनि उक्त बापतको रकम अस्पताललाई प्राप्त नहुँदा अस्पतालले औषधि खरिद गर्न नसकेको हो ।

अस्पतालको आम्दानीको स्रोत नभएको र बीमा वापतको औषधिको रु एक करोड विगत छ महिनादेखि प्राप्त हुन नसकेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अस्पतालमा औषधि अभाव हुन नदिन छिट्टै रकम भुक्तानी गरिदिन आग्रह गर्नुभयो ।

उपचार केन्द्रले फार्मेसीलाई नै औषधिवापतको रु ८० लाखभन्दा बढी भुक्तानी दिन बाँकी छ । औषधि सप्लायर्सलाई औषधि पठाउन आग्रह गरे पनि पहिलेकै भुक्तानी बाँकी भएकाले सप्लायर्सले पनि औषधि पठाउन मानेको छैन ।

अस्पतालमा दैनिक दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ९० प्रतिशत बीमा गरेका बिरामी आउँछन् । अस्पतालमा शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

पचास श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका अलावा झाडापखला, टाईफाईड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रका नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही दिन अगाडिबाट मात्र कल्चर सेवा पनि शुरु गरेको छ । अस्पतालले बिहान १०ः०० देखि ४ः०० बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायतका सेवा दिइरहेको छ । मेजर अप्रेशन र पाँच श्ययाको सघन उपचार कक्ष सञ्चालनको तयारी गरिएको कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालको थप सुधार र विकासका लागि गुरुयोजना पनि बनाइएको छ । गुरुयोजना निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको अस्पताल सञ्चालक समितिका सदस्य राम भण्डारीले जानकारी दिनुभयो । “गुणस्तरीय सेवा प्रवाहका लागि उपचार केन्द्रलाई पूर्वाधार अभाव पनि छ, सेवा सुविधा विस्तारका लागि स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय भइरहेको छ”, भण्डारीले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस