नेपाल पत्रकार महासङ्घ काठमाडौँमा सुवेदी


नेपाल पत्रकार महासङ्घ काठमाडौँको अध्यक्षमा सूर्य सुवेदी विजयी हुनुभएको छ । महासङ्घ काठमाडौँको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल (भाञ्जा), महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी हुनुभएको छ । यसैगरी खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुङ्गेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डङ्गोल विजयी हुनुभएको छ ।

मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजय हुनुभएको छ । देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौँ शाखाको बुधबार सम्पन्न निर्वाचनमा एक हजार २३४ मत खसेको थियो ।

हुम्ला अध्यक्षमा रावत विजयी

सिमकोट– नेपाल पत्रकार महासङ्घ हुम्ला जिल्ला शाखाको अध्यक्षमा राजन रावत विजयी हुनुभएको छ । बुधबार भएको निर्वाचनबाट रावत निर्वाचित हुनुभएको हो । बिहीबार भएको मतगणनामा रावतले कूल खसेको २९ मतमध्ये २० मत पाएको महासङ्घ जिल्ला निर्वाचन समितिका संयोजक हरिबहादुर रावतले बताउनुभयो । अध्यक्षका अर्का प्रत्यासी अर्जुन बोहराले नौ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजबहादुर शाही, सचिवमा नन्द सिंह, कोषाध्यक्षमा सुरेश परियार, दलित सदस्यमा दलसरा परियार विजयी हुनुभएको छ । महिला उपाध्यक्षमा कुसुम बुढा यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ । त्यसैगरी सहसचिवमा छपाल लामा र अशोक भण्डारी पनि निर्विरोध चयन हुनुभएको थियो । सदस्यमा बेलुमाया महतारा, भक्तराज ऐडी, लोग भण्डारी, दाने बोहरा, पदमराज हमाल चयन हुनुभएको छ । उहाँहरू पनि निर्विरोध निर्वाचित हुनुभएको हो ।

निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारी (ओली पक्ष) बीच सहकार्य भएको हो । त्यस्तै केन्द्रीय परिषद् सदस्यमा जनक शाही र नवराज महतारा तथा प्रदेश परिषद् सदस्यमा कालीबहादुर थापा पनि निर्विरोध चयन हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा ३३ पत्रकार आबद्ध भए पनि २९ जनाले मतदान गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस