गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवन शिलान्यास


कास्की, २३ वैशाख । गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवन निर्माण गरिने भएको छ । पोखरा रङ्गशालाभित्र निर्माण गरिने भवनको आज गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले शिलान्यास गर्नुभयो ।

प्रदेश सरकारको रु ४० लाख लागतमा स्टिल संरचनामा सभाहल सहित ११ कोठाको भवन आगामी तीन महिनाभित्रमा निर्माण गरिसकिने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

गत फागुनमा प्रदेश सदस्य सचिव सहित परिषद्का पदाधिकारी र सदस्यहरु नियुक्त भएपनि पूर्वाधार अभावमा उहाँहरुको पदस्थापन हुन सकेको छैन । कार्यक्रममा युवा तथा खेलकूदमन्त्री गुरुङले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताउनुभयो ।
विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले गण्डकीका ११ वटै जिल्लामा रहेका खेलकूदको सम्पत्ति तथा पूर्वाधारहरुको यकिन विवरण खोजी गर्ने काम अघि बढाइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“हामी नियुक्त भएर आएको एक साता मात्र भएको छ । अब हामी प्रदेशको ११ वटै जिल्लामा कहाँ कहाँ खेलकूदको सम्पत्ति त्यसको खोजीनीतिमा लाग्ने छौँ । त्यस सम्पत्तिलाई खेलाडी र युवाको उपयोगमा लगाउने योजना छ ।”

कोरोना महामारीमा पनि आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खेल पूर्वाधार निर्माणलाई अघि बढाइने मन्त्री गुरुङले जानकारी दिनुभयो ।

खेलकूद परिषद्का सदस्य सचिव गुरुङले कोरोना महामारीका कारण सीमित व्यक्तिहरुको उपस्थितिमा शिलान्यासको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

“खेलकूद परिषद्को प्रशासनीक भवनको आज शिलान्यास हुनु हाम्रा लागि खुःशीको दिन हो । अत्यावश्यक भवन निर्माणपछि परिषद्को काम कारवाहीलाई थप व्यवस्थित बनाउन सहज हुनेछ । ” उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस