सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै


आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ । राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज सङ्क्रान्तिका दिनमा मनाइने चलनअनुसार यहाँ धुमधामका साथ मनाइने गरिएको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका कमलसिंह विकले बताउनुभयो । उहाँले भन्नुभयो, “मानवलाई दुःख दिने पुतनालाई भगवान् श्रीकृष्णले मारेको दिनको सम्झनामा आज यहाँ बूढी पोल्ने पर्व निकै रमाइलोसँग मनाइँदै आएको छ ।”

सुदूरपश्चिममा भाद्र सङ्क्रान्ति अर्थात् भदौ १ गतेका दिन बीच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाङ्गाबिङ्गा काटेर पुतना बूढी अर्थात् राक्षस पुतनाको प्रतीक बनाइएको हुन्छ । उक्त प्रतीकलाई आज गाउँका सबै मिलेर जलाउने अर्थात् बन्दुनी जलाउने भनिने गरेको अर्का स्थानीयवासी दलबहादुर साउदले जानकारी दिनुभयो ।

उहाँका अनुसार बन्दुनी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुशीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन रहेको छ । यसैगरी उक्त बूढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । आजको दिनलाई सुदूरपश्चिममा बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको बूढापाका बताउँछन् ।

परम्परागत किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षस प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरुले पुतनाको शवदहन गरेको कथन रहेको शिखर नगरपालिका–१ का पण्डित गुणकर जोशीले बताउनुभयो । द्वापरयुगमा विशाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षस पुतनालाई भगवान् श्रीकृष्णले दूध चुसी मारेको र भगवान् श्रीकृष्ण बाँचेको खुशीयालीमा यो पर्व मनाइने गरिएको हो । पुतना दहन गरेपछि आज रातभरि देउडा, भुवाजस्ता सांस्कृतिक कार्यक्रम गरिने चलन पनि छ ।

यो पनि – आजदेखि पाथीभरा दर्शन खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिद्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको हो ।

कोभिडको जोखिम अझै पूर्णरूपमा अन्त्य भइनसकेकाले पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नसमेत समितिले अनुरोध गरेको छ । पाथीभरा दर्शनका लागि दशैँ–तिहारको समयलाई मुख्य समय मान्ने गरिएको छ भने यो समयमा मात्र लाखौँ भक्तजनले पाथीभराको दर्शन गर्ने गरेका छन् ।

यो पनि – आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर विश्वकर्माको पूजा आराधनाको तयारी गरिएको जनाइएको छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।

यही सम्झनामा नेपालका कालिगडले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ । वास्तु शास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस