अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकलाका लागि आवेदन आह्वान


नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताका लागि आवेदन दर्ता गर्न आह्वान गरेको छ ।
प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत इच्छुक विद्यार्थीले भाग लिन सक्नेछन् । राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४–१०) तथा विश्व विज्ञान दिवस (नोभेम्बर १०) को सन्दर्भ पारेर सोसाइटीले सञ्चालन गर्दै आएको विद्यालय तहको प्रतियोगिताका लागि असोज ९ गतेसम्म संस्थाको वेभसाइटमार्फत् आवेदन दर्ता गर्न सकिने अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

दुवै प्रतियोगिताका लागि यो वर्षको शीर्षक ‘अन्तरीक्ष विज्ञानमा महिला’ तय गरिएको उहाँले सुनाउनुभयो । इच्छुक विद्यार्थीले यसै शीर्षकमा केन्द्रित रहेर आफ्नो रचना अनलाइन फाराममार्फत सोसाइटीको कार्यालयमा पठाउनु पर्नेछ । यो वर्षबाट वक्तृत्वकलामा विद्यार्थीको रचनात्मक प्रस्तुतिलाई स्थान दिन भिडियो सम्पादन गर्न छुट दिइएको छ ।

त्यस्तै चित्रकलाका सम्बन्धमा पनि विद्यार्थीले आफ्नो रचनालाई बढीमा एक मिनटमा व्याख्या गरेको भिडियो बनाएर पठाउनु पर्नेछ । प्राप्त रचनामध्ये उत्कृष्ट रचना सोसाइटीको आधिकारिक युट्युब च्यानलमा जनमतका लागि राखिने जनाइएको छ ।

पुरस्कारसम्बन्धी निर्णय गर्दा ५० प्रतिशत जनमत तथा ५० प्रतिशत निर्णायक मण्डलको मूल्याङ्कनलाई आधार बनाइने छ । प्रतियोगितामा आवेदन गरिएका रचना प्रतियोगिता अवधिभर अन्य कुनै स्थानमा सार्वजनिक गर्न पाइने छैन । सार्वजनिक गरेको पाइएमा उक्त रचना प्रतियोगिताबाट हटाइने छ । दुवै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रोत्साहनस्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिने छ ।

पाँचौँ राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः आकर्षक पुरस्कार, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तेस्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले मात्र आवेदन दिन सक्नेछन् । प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो हुने विद्यार्थीलाई पुरस्कारस्वरुप क्रमशः नगद रु १० हजार, रु पाँच हजार तथा रु तीन हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितासम्बन्धी नियम तथा दर्ता प्रक्रियाबारे सम्पूर्ण जानकारीका लागि धधध।लभउबबिकतचयलयmष्अबकियअष्भतथ।यचन।कउबअभधभभप हेर्न सकिने अध्यक्ष भट्टराइले बताउनुभयो । थप जानकारी चाहिएमा कार्यालयको सम्पर्क नं ९८४३७०८२४८ मा फोन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस