सप्तरीमा करेन्ट लागेर बालकको मृत्यु


सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युपछि शव फर्काएर घरमा ल्याई राखिएको प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
–––

यो पनि – पहिराका कारण नौ घर उच्च जोखिममा

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिराको जोखिममा परेको छ । सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिराले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ । वडा नं ५ का अध्यक्ष राजकुमार गौतमका अनुसार बिरुवा टोलका भीमसेन गौतम, खारका युवराज गिरी, पोष्टराज गिरी, चेतुराज गिरी र नारायण गिरीको घर पहिराको उच्च जोखिममा छन् । त्यस्तै रुम्टिका मेहलाल गजमेर, झम्कप्रसाद चौलागाईँ, विशाल गौतम र मीनप्रसाद गौतमको घर पनि जोखिममा छ । ती घरको तलबाट पहिरा गएका कारण उच्च जोखिममा रहेकाले उनीहरु अहिले अन्यत्र बस्दै आएको वडाध्यक्ष गौतमको भनाइ छ ।

“घर जोखिममा परेपछि बसोबासमा समस्या भएकालाई सङ्घसंस्थाको सहयोगमा तारजाली वितरण गरिएको भए पनि पानी परिरहेका कारण काम गर्न सकिरहेको छैन”, उहाँले भन्नुभयो, “खार र रुम्टिगाउँ भूकम्प गएदेखि भूगर्भविद्हरुले उच्च जोखिममा रहेको बस्तीका रूपमा चित्रण गरेको छ ।” बस्ती वरिपरी पहिरा गएका कारण त्यहाँका ३५÷४० घरपरिवारलाई अन्यत्र सार्न पनि नसकिने र ढुक्कका साथ बस्न पनि नपाइने अवस्था रहेको उहाँले बताउनुभयो । पहिला पनि भूकम्प गएदेखि पहिराको जोखिममा रहेको सो बस्तीमा पछिल्लो समय मोटरबाटो खनेपछि पानी परेर झन् जोखिममा परेको जनाइएको छ ।

यो पनि – पहिराले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् ।यसरी नै दक्षिणी क्षेत्रका डाडागाउँ, ठूलोगाउँ, ठूलोभोर्ले–पारच्याङ, लाङ्वु, सरमथली पाटीखर्कलगायतका स्थानमा जाने ग्रामीण सडकसमेत अवरूद्व भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री भरियाद्वारा ढुवानी गराउन स्थानीय बासिन्दा बाध्य भएका छन् ।

बिरामीलाई डोको तथा थुन्छेमा बाकेर स्वास्थ्य सस्थामा लेजानुपरेको जनाइएको छ । के–कति किलोमिटर सडक क्षति भयो भन्न एकीन जानकारी भएको छैन ।यस वर्षको वर्षाबाट अत्यधिक पहिरो गएको र स्याउबारीबाट रसुवागढीसम्मको राजमार्ग भने निरन्तर सञ्चालन गराउन सफल भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । गत हप्ता धुञ्चेपारिको खोपाङ भिरको राजमार्गमा गएको पहिरो खुलाउन २४ घण्टा लागेको र राजमार्गको अन्य स्थानमा हुने गरेका अवरोध भने सकभर आजको आजै हटाई भन्सार कार्यालयबाट जाँचपास भएका मालबाहक सवारी सहजरूपमा गन्तव्यतर्फ पठाउन सुरक्षा निकायले सहजीकरण गर्दै आएको छ ।

स्याउबारीबाट रसुवागढीसम्म करिब ५० किलोमिटर राजमार्गको क्षेत्र बढी भिरपाखा भएका कारण अधिकांश भागमा साना–ठूला पहिरो जाने गरेको र गत असारदेखि हालसम्म १५० भन्दा बढी पहिरो पन्छाइएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।मेलम्चीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापार व्यवसाय सहज पार्ने एक मात्र रसुवागढी नाका रहेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले अवरुद्ध सडक सुचारु गर्न उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारीदिनुभयो ।

स्याफ्रुबेँसीदेखि रसुवागढी खण्डको १६ किमी क्षेत्रमा भने दिनहुँ सडकमार्ग अवरूद्व हुने समस्या बढेको छ ।हिमाली क्षेत्र खुकुलो माटो, गहिरो खोंच भएको स्थानमा निर्माणाधीन १११ मेगावाट रसुवागढी एवं १२० मेगावाट लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाका साथै अन्य स्थानमा सडक विभागको उपकरणले पहिरो पन्छाउने कार्य हुँदै आएको छ ।

यो पनि – कोरोनाका मारमा परे पुस्तकालय

यसै त पाठक पाउन छाडेका पुस्तकालय कोरोना महामारीका कारण थप सङ्कट झेल्न बाध्य छन् । मङ्गलबार परेको १४औँ राष्ट्रिय पुस्तकालय दिवससमेत नमनाई बित्यो । ज्ञानको भण्डार पुस्तकालयका ढोकामा महिनौँदेखि ताल्चा झुण्डिएका छन् । पाठकको आउजाउ छैन । सङ्क्रमणको जोखिम हुन नदिन पुस्तकालय खोल्न स्थानीय प्रशासनले रोक लगाएको छ ।

पुस्तकालय मात्र होइन, सबैखाले शैक्षिक संस्था सञ्चालनमा बन्देज छ । विसं २००३ मा खुलेको यहाँको प्रतिष्ठित विद्यामन्दिर पुस्तकालय अहिले सुनसान छ । महामारी भित्रिएदेखि नै यसको सेवा प्रभावित बनेको हो । पहिलो लहर मत्थर भएपछि बीचमा केही समय खुले पनि दोस्रो लहर सुरु भएसँगै गत वैशाखयता पुनः बन्द गर्नुपरेको पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले बताउनुभयो । “निषेधाज्ञाका कारण पुस्तकालय नियमित खोल्न सकिएको छैन, स्थिति सहज हुँदासाथ सञ्चालनमा आउँछ”, उहाँले भन्नुभयो । मानिस भेला हुन नपाइने भएपछि पुस्तकालय दिवसलाई पनि औपचारिकता मात्रै दिइएको उहाँले बताउनुभयो ।

कोरोनाअघि सप्ताहव्यापी कार्यक्रमसहित पुस्तकालय दिवस मनाउने चलन थियो । पाठक घटिरहेको र पठन संस्कृतिमा पनि ह्रास आइरहेका बेला पुस्तकालय नै बन्द गर्नुपर्ने दुःखद् अवस्था निम्तिएको उहाँको भनाइ छ । सदरमुकाममै रहेको ज्ञानोदाय भगवती पुस्तकालयले लामो सङ्कट व्यहोरेपछि गत वर्षदेखि तङ्ग्रिँदै थियो । स्थानीयवासीले दुरवस्थामा पुगेको पुरानो पुस्तकालयको साख फर्काएका थिए । भवनको जीर्णोदार र नयाँ व्यवस्थापनपछि नियमित सञ्चालनमा आउन थालेको उक्त पुस्तकालय पनि कोरोनाका मारमा परेको छ ।

पुस्तकालयका सचिव लोकेन्द्र केसीले निषेधाज्ञाका कारण बन्द गर्नुपरेको सुनाउनुभयो । “पुस्तकालयले नयाँ स्वरुप लिएको छ, व्यवस्थित बनाएका छौँ, तर खोल्न पाइएको छैन”, उहाँले भन्नुभयो, “प्रशासनले अनुमति दिएपछि पुस्तकालय नियमित खुल्छ ।” विसं २०२१ मा स्थापित उक्त पुस्तकालय संरक्षण अभावमा जीर्ण स्थितिमा पुगेको थियो । पुस्तकालय अधोगतितिर लागेपछि पुस्तकालयप्रेमी र समुदाय मिलेर पुनःनिर्माणसँगै व्यवस्थापनमा जुटेका थिए । स्थानीय तहसहित सरकारका निकायले आर्थिक सहायता दिएपछि पुस्तकालय जोगिएको छ ।

यी दुई सदरमुकामस्थित नाम चलेका सार्वजनिक पुस्तकालय हुन् । यहाँका अन्य क्षेत्रमा रहेका पुस्तकालय पनि अहिले बन्द छन् । ती कहिले खुल्छन् ठेगान छैन । कतिपय पुस्तकालय शैक्षिक संस्थामातहत छन् । शैक्षिक क्षेत्र निर्वाधरूपमा नखुलेसम्म पुस्तकालय सञ्चालनमा आउने छाँटकाँट छैन ।

यही स्थिति अझै लम्बिँदै जाँदा पाठकले पुस्तकालय नै बिर्सने हुन् कि भन्ने चिन्ता छ । पुस्तकालय बन्द हुँदा व्यवस्थापनले नयाँ पुस्तकलगायत ज्ञानवद्र्धक सामग्री थप्न पाएका छैनन् । रेखदेख र सरसफाइ नहुँदा पुस्तकालय भवन नै बिरुप देखिन थालेका छन् । कोरोनाको दोस्रो लहर चलेपछि गत वैशाख २१ गतेयता यहाँ निषेधाज्ञा छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो पारिए पनि कतिपय क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । सङ्क्रमणदर घट्दै गएकाले क्रमशः सबै क्षेत्र चलायमान हुनेमा आशा जागे।

प्रतिक्रिया दिनुहोस