सङ्कटलाई अवसरमा बदल्दै व्यवसायी


गलकोट, २४ असोज (रासस) ः बागलुङ बजारको गोल्डेन गेट चोकमा ट्युसन पढ्नाका साथै कम्प्युटर र भाषा सिक्न विद्यालय तथा क्यापसका विद्यार्थीेको घुइँचो नै हुन्थ्यो तर कोरोना महामारीका कारण दुई वर्षयता ट्युसन सेन्टर तथा भाषा सेन्टर बन्द अवस्थामा पुग्यो । ‘गोल्डेन गेट भाषा तथा ट्युसन सेन्टर’का सफल व्यवसायी नेत्र विष्ट कोरोना महामारीका कारण समस्यामा पर्नुभयो । भाषा कक्षाहरु ठप्प भए ।

कोरोनाले नियमित आम्दानीको अवसर रोकिएकामा लगानीकर्तामा केही तनाव र चिन्ताको अवस्था सिर्जना भए पनि केही युवा सञ्चालकले सङ्कटले निम्त्याएकोे समस्यामा चिन्तित नभएर नयाँ विकल्प र अवसर खोज्न थाले ।
त्यही क्रममा ट्युसन भाषा कक्षा सञ्चालन गरेको गोल्डेन गेटकै नामबाट सुपर मार्केट खोल्ने सहमति भयो । कोरोनाको त्रासकै बेलामा खाद्यान्न, कस्मेटिकलगायत एउटै छानामुनि दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीसहित ‘गोल्डेन गेट सुपर मार्केट’ सञ्चालनमा ल्याइएको हो । “पुरानो व्यवसायको जगमा टेकेर नयाँ व्यवसाय सञ्चालनमा ल्याएका छौँ, अहिले सबैभन्दा बढी शैक्षिक संस्था र व्यापार व्यवसायमै असर परेको छ”, सञ्चालक विष्टले भन्नुभयो, “सङ्कटका बेला अवसर खोज्दै नयाँ व्यवसाय थालेका छौँ, यो पनि ठूलो जोखिम मोलेर सञ्चालन गरेका हौँ ।”

बागलुङ नगरपालिका–२ गोल्डेनगेट चोकमा तीन करोडको लागतमा यो सुपरमार्केट सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । यसअघि विष्ट, राजेन्द्र पुन र इन्द्र थापाले ‘गोल्डेन गेट ट्युसन सेन्टर’, ‘गोल्डेन गेट कम्प्युटर सेन्टर’ र ‘गोल्डेन गेट होस्टेल’ सञ्चालन गरेका थिए । कोरोनाले यी सबै व्यवसायमा असर पारेपछि सुपर मार्केट सञ्चालनमा ल्याइएको अर्का सञ्चालक इन्द्र थापाले बताउनुभयो ।

सुपरमार्केटमा खाद्यान र घरेलु उत्पादनका सामग्री उपलब्ध छ । घरेलु प्रयोजन तथा सौन्दर्यका सामग्री, पेय पदार्थ, दूध, दही, जङ्कफूड, मदिरा, भाँडाकुडा तथा भान्साका सामग्री, फेन्सी कपडा र प्राङ्गारिक तथा स्थानीय उत्पादनसमेत सुपर मार्केटमा राखिएका छन् । यहाँ १५ जनाले रोजगारी पाएको अर्का सञ्चालक राजेन्द्र पुनले बताउनुभयो ।

लामो समयदेखि बजारको लालीगुराँस चोकमा जुत्ता र फेन्सी पसल गर्दै आउनुभएका पुनम शर्माले पनि दुई महिनाअघिदेखि ‘साथी मार्ट’ सञ्चालनमा ल्याउनुभएको छ । झण्डै रु ५० लाखको लागतमा खाद्यान्न, कस्मेटिक, पेय पदार्थ तथा घरेलु उत्पादनसहितको मार्ट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । “विदेश भ्रमणका क्रममा टोलटोलमा यस्ता मार्ट देखेको थिएँ, अत्यावश्यक उपभोग्य वस्तुकोे व्यापारसमेत राम्रो देखेर यो मार्ट सञ्चालनमा ल्याएको हुँु”, व्यवसायी शर्माले भन्नुभयो, “कोरोनाको त्रासमा समेत निरन्तर सञ्चालनमा आएको यो व्यवसायमा सबै प्रकारका खाद्यान्न प्राप्त हुँदा ग्राहकको समेत मन जित्न सकिदो रहेछ ।”

मार्टमा दैनिक उपभोग्य वस्तुका अलवा कस्मेटिक, पेय पदार्थ, सरसफाइका सामान, अन्तर्राष्ट्रिय ब्राण्डका मदिरा, बेकरी आइटम, जङ्क फुड, बाथरुमका लागि चाहिने सामान उपलब्ध छन् । शर्माले कोरोनाको त्रासमा सम्भावना खोज्न नयाँ व्यवसाय रोजेको बताउनुभयो ।

पछिल्लो समय बजारमा सुपर मार्केट सञ्चालकमा एक किसिमको लहरै आएको छ । कोरोनाको पहिलो लहरमा स्थानीय व्यवसायी सुवास श्रेष्ठले बागलुङ नगरपालिका–२ अदालत रोडमा ‘ब्राउन आइज मार्ट’ सञ्चालनमा ल्याउनुभएको थियो । सिनेमा हल र पार्टी प्यालेस सञ्चालन गर्दै आउनुभएका उहाँले कोरोनाका कारण अरु व्यवसाय ठप्प भएपछि यो मार्ट सञ्चालन गर्नुभएको हो ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले समेत बजारको श्रीनगर टोलमा पाँच हजार प्रकारका सामग्रीसहितको ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा ल्याएको छ । यही असोज १६ गतेदेखि यो सुपर मार्केट सञ्चालनमा आएको सहकारीका प्रबन्धक विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

बागलुङ बजार आधुनिकतातिर ढल्कँदै गर्दा यहाँ नयाँ खाले पसल र मार्ट सञ्चालनमा आउन थालेका छन् । सदरमुकाममा अहिले साना–ठूला गरी एक दर्जन भन्दाबढी मार्ट सञ्चालनमा छन् । बजारमा ‘राधेश्याम सपिङ कम्प्लेक्स’, ‘कालिका मार्ट’ र ‘सेल्स मार्ट’लगायत मार्ट तथा डिपार्टमेण्टल स्टोर सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस