बेमौसमी वर्षाले झापामा १८ परिवार विस्थापित


सोमबारदेखि लगातारको वर्षाका कारण झापामा १८ परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका–१ को टप्पु गाउँका १८ घर परिवार विस्थापित भएका हुन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार विस्थापित परिवारलाई प्रहरी र पालिकाका जनप्रतिनिधिहरुको सहयोगमा उद्धार गरिएको छ । उनीहरलाई स्थानीय एक सामुदायिक विद्यालयको भवनमा राखिएको छ । अत्यधिक वर्षाका कारण सो क्षेत्र डुबान भएपछि १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

वर्षाकै कारण गौरीगञ्ज–१ स्थित हुक्लाबारी गाउँका ८५ घर उच्च जोखिममा रहेका छन् । पचासी घर परिवारमध्ये १८ परिवारका ज्येष्ठ नागरिक र अशक्तलाई भने नजिकैको चर्चको भवनमा सारिएको बताइएको छ ।

धानबालीमा क्षति

निरन्तरको वर्षापछि आएको बाढीले झापाको ५० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । जिल्लाको कुल ८७ हजार ५०० हेक्टरमा धानबाली लगाएको मध्ये करीब ४५ हजार हेक्टरको धानबालीमा वर्षाका कारण क्षति पुगेको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । पाकेर बाली उठाउने बेलाको धानमा बर्सातको पानी पसेर केही ठाउँमा धानीबाली पूर्णरूपमा नष्ट भएको छ भने केही ठाउँमा भने हावा पानीका कारण धानबाली डुबानमा परेको छ । अहिले कृषि ज्ञान केन्द्रले जिल्लाका १५ वटै पालिकामा क्षतिको विवरण सङ्कलन सुरु गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताउनुभयो ।

यो पनि – बाढीले जुम्लामा करोडौँको क्षति

दुई दिन दिनसम्म परेको अविरल वर्षाका कारण जुम्लामा करोडौँको क्षति भएको छ । बाढीले यहाँ आठ स्थानीय तहमध्ये तिला गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ । तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका–४ हाँकु, गिडीखोला, ७ सुर्की, सर्मी र ८ बंतडी, टोप्ला र मुछाली बुढाबाडा गाउँमा ठूलो क्षति भएको छ । क्षतिग्रस्त स्थल तिला गाउँपालिका– ४ मा जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठ, प्रहरी नायब उपरीक्षक दानबहादुर थापासहित प्रहरी टोली पुगेर फर्केको छ ।

प्रमुख जिल्ला अधिकारी प्रसाईंले कृषिको प्राविधिक टोलीले गरेको प्रारम्भिक सर्भेअनुसार क्षतिग्रस्त स्थानमा १८ हेक्टर (३६० रोपनी) धानबाली, १२ वटा स्याउ बगैँचामा पनि क्षति पुगेको बताउनुभयो । धानबालीसहित विद्यालय, काठ चिर्ने, धान कुट्ने मिल, सडक, पूर्वाधारलगायतमा क्षति पुगेको उहाँले बताउनुभयो । “भारी वर्षाका कारण आएको बाढीले हिमा गाउँपालिका–६ बागबजारकी ३२ रत्ना शाहीलाई बेपत्ता बनाएको छ”, प्रजिअ प्रसाईंले भन्नुभयो, “उहाँको खोजीकार्य जारी रहेको छ ।” उहाँका अनुसार बाढीले जिल्लाभरि के–कति क्षति भएको छ भन्ने पूर्ण विवरण ल्याउन क्षतिग्रस्त स्थलमा प्राविधिक टोली पठाइएको र यही ५ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले त्यसको सार्वजनिक गर्नेछ ।

यता कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले तिला–४ जुम्लामा बाढीले सबैभन्दा बढी १३ हेक्टर कालीमार्सी, पाँच हेक्टर उन्नत जातको धानमा क्षति पुगेको जानकारी दिनुभयो । “दुई घर बगेको छ भने तीन घर जोखिममा छन्”, प्रमुख देवकोटाले भन्नुभयो, “तीन वटा सामुदायिक विद्यालय र तीन साना जलविद्युत् आयोजना, कुलो र पावर हाउसमा क्षति पुगेको छ ।”

तिला गाउँपालिका–४ नुवाकोट गाउँका स्थानीय नयनबहादुर हमालले आफ्नो घरसहित चिरानी तथा कुटानी पिसानी मिल बगाएको बताउनुभयो । नुवोकोट लघु जलविद्युत् आयोजनाका ६० थान विद्युत्को खम्बा, भ¥याङ, तारको क्वायललगायत आवश्यक सामग्रीसमेत बाढीले बगाएर लगेको हमालले जनाउनुभयो ।तातोपानी गाउँपालिका–४ हाँकुमा छ काठेपुल, एउटा विद्यालय र एउटा त्रिवेणी मन्दिर बगाएको स्थानीय लोकेन्द्र रावलले बताउनुभयो । उहाँका अनुसार गिडी खोला किनारका रहेका धानका खेती बाढीले लगेको छ । तिला गाउँपालिका– ३ जुम्ला पहाडा लुम्सेराका स्थानीय विष्णुऋषि भट्टराईले धानखेती बाढीले पुरिएको दुखेसो पोख्नुभयो ।

धान भण्डारण गर्ने तयारीमा रहेका यहाँका किसान बाढीले सबै खेती विनाश गर्दिएपछि अहिले पुर्पुरामा हात लगाउनुपरेको छ । बाढीले धानखेती नष्ट मात्र गरेको छैन उर्वर खेत बगरमा परिणत गरिदिएको छ । तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगीले क्षतिग्रस्त क्षेत्रका प्रभावित नागरिकलाई हाल खानेपानी व्यवस्थापन गर्ने तयारी थालिएको बताउनुभयो । केकति क्षति भएको छ भनेर आजै स्थलगत अवलोकन गरिएको जनाउँदै अध्यक्ष योगीले गाउँ सरकारले बाढीबाट भएको क्षतिको यकीन विवरण सङ्कलन गर्ने र तत्काल राहतका लागि काम अगाडि बढाउने जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस