नयाँपुल–घान्द्रुक सडक पहिराले अवरुद्ध, बाटोमै रोकिए पर्यटक


जिल्लाको पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाने सडक पहिराले अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिएका छन् । अन्नपूर्ण–१० को सादिखोलामा गए राति १० बजे पहिरो गएपछि नयाँपुल–घान्द्रुक सडक अवरुद्ध हुँदा यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । सडक बन्द भएपछि पोखरादेखि घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरसम्म जाने पर्यटक बीचबाटोमै रोकिएका हुन् ।

उहाँका अनुसार सडक अवरुद्ध भएपछि पोखरा हुँदै घान्द्रुक जाने सवारी साधनलाई बिरेठाँटीमै रोकिएको र घान्द्रुकबाट पोखरा फर्किनेलाई समेत सडक नखुल्दासम्म उतै रहन सूचना जारी गरिएको छ । प्रहरीले पहिरो हटाउन केही समय लाग्ने जनाएको छ । दसैैँको घटस्थापना सुरु भएपछि पर्यटकीय गन्तव्य घान्द्रुक जाने आन्तरिक पर्यटक ह्वात्तै बढेका थिए । कोरोनाका कारण लामो समय सुनसान बनेको घान्द्रुकमा अहिले आन्तरिक पर्यटक भरिभराउ भएको पर्यटन व्यवसायी किसम गुरुङले बताउनुभयो ।

घान्द्रुक अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर(एविसी) पदमार्गको मुख्य प्रवेशस्थल हो । आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पुग्ने गरेका छन् । घान्द्रुकबाट छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ«े आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।

यो पनि – बाढीले कर्णाली पुलका सामान बगायो

कर्णाली नदीमा आएको बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मङ्गलबार आएको सुर्खेतको चौकुने गाउँपालिका–१० सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बाढीले बगाएको हो ।

अनक कन्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको सो पुलका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्चर मेसिन बाढीले बगाएको प्रहरीले जनायो । बाढीले क्रेन भने डुबाएको छ । बाढीले पुलका सामान बगाएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयले अस्थायी प्रहरीचौकी घाटगाउँबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार शाहीको नेतृत्वमा चार जना प्रहरीलाई क्षतिको विवरण सङ्कलन गर्न घटनास्थल पठाएको थियो ।

त्यस्तै बाढीको जोखिम बढेपछि नदी किनारमा रहेको दैलेखको रामघाट बजारका २० घर स्थानान्तरण गरिएको छ । प्रदेश प्रहरी कार्यालयले बजारमा कर्णाली नदी पसेपछि मानवीय र धनमालको क्षति हुन नदिन त्यहाँबाट चार किमी टाढा स्थानान्तरण गरिएको हो । त्यस्तै, अविरलको वर्षाले सुर्खेत–जुम्ला सडक (कर्णाली राजमार्ग) ठाउँ–ठाउँमा अवरुद्ध हुन पुगेको र सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस