फेरी बदली र वर्षा


हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पानि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राजधानी काठमाडौँ उपत्यकामा आज बिहानैदेखि बदली रहेको छ । बदलीका कारण उपत्यकामा केही चिसो महसुस गरिएको छ । काठमाडौँको अधिकतम २८ दशमलव पाँच र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

यो पनि – छ दिनदेखि अवरुद्ध फोन र विद्युत् सेवा सञ्चालन

बेमौसमी अविरल वर्षासँगैको बाढी–पहिराका कारण विगत पाँच÷छ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३÷११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण अवरुद्ध बनेको विद्युत् सेवा गए रातिबाट सञ्चालन गरिएसँगै अहिले जिल्लामा फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन भएको साना जलविद्युत् केन्द्र दिपायलले जनाएको छ । अवरुद्ध विद्युत् र फोन सेवा सञ्चालन भएसँगै यहाँका नागरिकलाई आफ्ना समस्याका बारेमा जानकारी लिन र दिन निकै सहज भएको छ ।

यहाँका प्रमुख बजार, दिपायल, पिपल्ला, सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम राजपुरमा फोन तथा विद्युत् सेवा सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा विस्तार गरिएका विद्युत् पोल पहिराले बगाएका कारण सञ्चालन हुन नसकेको जलविद्युत् केन्द्रका प्रमुख कुम्भराज जोशीले बताउनुभयो । अवरुद्ध भएको फोन तथा विद्युत् सेवा सञ्चालन भएका कारण यहाँका नागरिकले यो विपद्का समयमा केही राहत महसुस गरेको दिपायल राजपुरका टेकबहादुर शाहले बताउनुभयो ।

प्रमुख सहरबजारमा विद्युत् र फोन सेवा सञ्चालन भए पनि यहाँका ग्रामीण क्षेत्रमा सञ्चालन नभएका तथा सडक सञ्जालसमेत अवरुद्ध हुँदा गाउँमा बाढी–पहिराले के–कति क्षति पु¥याएको छ भन्ने विषयमा जानकारी लिन निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताउनुभयो । डोटीसँगै छिमेकी जिल्ला डडेल्धुरामा फोन र विद्युत् सेवा सञ्चालन भए पनि जिल्ला अछाम तथा बाजुरामा भने सञ्चालन हुनसकेको छैन ।

जिल्लाको जोरायल गाउँपालिका–६ गुनडमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा रहेका ब्याट्री चार्च हुन नसक्दा गाउँघरमा फोन तथा फोरजी इन्टरनेट सेवा सञ्चालन हुननसकेको जोरायल गाउँपालिका–६ निरौलीका सुरेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बेमौसमी वर्षासँगै बाढीपहिराका कारण यहाँ हालसम्म १६ जनाको ज्यान गइसकेको छ । यसैगरी बाढीपहिराका कारण १२ जना घाइते, ३५ चौपायाको मृत्यु, २५ घाइते र २० बेपत्ता छन् । विस्थापित घरधुरी सङ्ख्या ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको छ । जिल्लामा बाढी–पहिराका कारण भएको थप धनजन क्षतिका बारेमा खबर सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । क्षतिको विवरण सङ्कलन तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटिएको छ । वर्षाका कारण किसानले काटेका धान बाढी र पहिराले बगाएको छ भने केही क्षेत्रका खेतमा पानीले पूरै धान डुबाएको छ ।

प्रतिक्रिया दिनुहोस