राष्ट्रिय पौडी प्रतियोगिता चितवनमा


जिल्लामा पहिलोपटक राष्ट्रियस्तरको पौडी प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका–१३ मा राष्ट्रिय विद्यालयस्तरीय उमेर समूह पौडी प्रतियोगिता हुने भएको हो । यही कात्तिक २७ र २८ गते लेक ट्वान्टी थाउजेन्ड फार्म रिसोर्ट (एलटिके हवेली) मा प्रतियोगिता हुन लागेको हो ।

महिला–पुरुष खेलाडीको ३६ विधामा प्रतिस्पर्धा हुने एलटिके हवेलीका सञ्चालक देभेन लोहनीले जानकारी दिनुभयो । उहाँका अनुसार ब्रेष्टस्ट्रोकतर्फ १८, बटरफ्लाईतर्फ आठ र फ्री स्टाइलतर्फ १० खेलहरु हुनेछन् । पच्चीस मिटरदेखि १०० मिटरसम्मका पौडी प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

प्रतियोगितामा विभिन्न जिल्लाका विद्यालयका ८–१०, १२–१४ वर्ष उमेर समूहका विद्यार्थी र १५ वर्षमाथिका खेलाडी सहभागी हुनेछन् । चितवन, मोरङ, ललितपुर, काठमाडाँै, कास्की, बाँकेलगायतका जिल्लाका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने सो अवसरमा जानकारी दिइयो । प्रतियोगिताका लागि २५ मिटर लम्बाइ, १६ मिटर चौडाइमा फैलिएको पौडी पोखरी ६ लेनको तीनदेखि पाँच फिटसम्मको गहिरो छ ।

प्रतियोगितामा प्राविधिक सहयोग नेपाल पौडी सङ्घको रहेको छ । यसअघि यहाँ छ दिनसम्म राष्ट्रिय तथा जुनियर राष्ट्रिय टोलीका १२ खेलाडीले पौडी तालिम लिएका थिए । पौडी पोखरीका लागि संरचना निर्माणमा रु दुई करोड खर्च गरी अन्तर्राष्ट्रिय मापदण्डको पोखरी निर्माण गरिएसँगै हवेली आफँैले पौडी प्रतियोगिताको आयोजना गरेको लोहनीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस