आधारभूत अस्पताल शिलान्यासमा सीमित


भोजपुर, ७ मङ्सिर (रासस) ः अघिल्लो सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्यसेवा पु¥याउने उद्देश्यले एकैसाथ अस्पतालको शिलान्यास गरेको भए पनि अहिले कामको प्रगति भने न्यून छ । शिलान्यास गरिएका अधिकांश स्वास्थ्य सस्थाका भवन निर्माण शिलान्यासमै सीमित छन् । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७७ मङ्सिर १५ गते देशभरसँगै जिल्लाका नौ स्थानीय तहमध्ये सात स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको थियो । सात स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास भएका थिए ।

संघीय सरकारले नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरे पनि निर्माणमा ढिलाइ हुँदा दुर्गम भेगका नागरिक सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चितसमेत बनेका छन् । यहाँका पौवादुङमा, अरुण, साल्पासिलिछो, टेम्केमैयुङ, रामप्रसादराई, आमचोक र हतुवागढी गाउँपालिकामा पाँचदेखि १५ श्ययाको अस्पताल शिलान्यास गरिएको हो । सातमध्ये पाँच अस्पतालको मात्र बोलपत्र आह्वानको काम भएको छ तर निर्माण भने सुरुआत हुनसकेको छैन ।

अरुण गाउँपालिकाले गत कात्तिकमा बोलपत्र खुलाएको जनाएको छ, भने रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण सम्पूर्ण काम अलपत्र अवस्थामा रहेको जनाएको छ । पौवादुङमा गाउँपालिकाको अस्पताल निर्माण भने २० प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

विसं २०७७ फागुन महिनामा रु चार करोड ८१ लाख १४ हजारमा बोलपत्र आह्वान भइसकेकोले अस्पताल पाँच श्ययाको निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत रामेश राईले बताउनुभयो । उहाँले भन्नुभयो,“ हाम्रोमा पाँच बेड क्षमताको अस्पताल निर्माण हुन्छ । यसको लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ ।” हालसम्म जग बसाल्ने काम भइसकेको उहाँको भनाइ छ ।

त्यस्तै साल्पासिलिछो गाउँपालिकामा पनि रु छ करोड ६५ लाखको लागतमा पाँच श्ययाको अस्पताल निर्माणको लागि २०७८ असार महिनामा बोलपत्र प्रक्रियाबाट काम सुरु भएको गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिनुभयो । वर्षाका कारण सामान ढुवानी गर्न यातायातको समस्या हुँदा काममा केही ढिलाइ भएको उहाँको भनाइ छ । बाटो राम्रो भएपछि कामले गति लिने उहाँको दाबी छ ।

उहाँले भन्नुभयो,‘‘यहाँ अस्पताल निर्माण कामको प्रक्रिया सुरु भएको छ । वर्षाका कारण काममा खास प्रगति हुनसकेन । अब निर्माण कामलाई तीव्रताका साथ अघि बढाउने योजना छ ।’’आमचोक गाउँपालिकामा रु १२ करोड ५० लाख लागतमा १० बेडको अधारभूत स्वास्थ्य अस्पताल निमार्णको लागि २०७८ वैशाखमा बोलपत्र प्रक्रिया सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ ।

भवनको विस्तृत परियोजना प्रतिवेदन तयार गर्दा केही ढिलाइ भएको भए पनि समयमा नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग कुरा भइरहेको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । केन्द्र सरकारले पाँच बेडको अस्पताल निर्माणको लागि निर्देशन गरेको भए पनि गाउँपालिकाका जनतालाई मध्यनजर गर्दै गाउँपालिकाको आर्थिक साझेदारीमा दश श्ययाको अस्पताल निर्माणको काम सुरु गरेको उहाँको भनाइ छ ।

हतुवागढी गाउँपालिकामा रु १६ करोडको लागतमा गत असार महिनामा बोलपत्रमार्फत १५ बेड क्षमताको अस्पताल निर्माणको लागि प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ । सरकारको एक स्थानीय तहमा एक आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्यक्रम अन्तर्गत अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ सरकारको योजना अनुसार अस्पाल निर्माणको प्रक्रिया सुरु भएको छ । निर्माणको काम भने सुरु भएको छैन् । तर काम गर्ने तयारीमा छौँ ।’’

अस्पताल अभावका कारण गाउँपालिकाका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको उहाँको भनाइ छ । अस्पताल निर्माण पश्चात् आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुनु नपर्ने उहाँको भनाइ छ ।

रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण अस्पताल निर्माणको कुनै काम सञ्चालन नगरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘अस्पताल निर्माणको लागि नौ रोपनी जग्गा आवश्यकपर्ने रहेछ । हामीले भर्खर जग्गा टुङगो लगाएका छौँ । अब चाँडै अस्पतालको नाममा जग्गा पास गरेपछि अस्पताल निर्माणको काम सुरु हुन्छ ।’’

षडानन्द नगरपालिकाले भने १५ श्यया क्षमताको गान्धी मेमोरियल अस्पतालबाट सेवा दिँदै आएको छ । यसअघि नै अस्पताल निर्माण भएकाले अर्को अस्पलात निर्माण नगरिएको नगर प्रमुख वीरबल राईले जानकारी दिनुभयो । भोजपुर नगरपालिकाकामा भने जिल्ला अस्पताल सञ्चालन भएकाले आधारभूत स्वास्थ्य अस्पतालको काम नगरिएको उपप्रमुख ममिता राईले बताउनुभयो ।

यहाँ ६६ स्वास्थ्यचौकी, ११ आधारभूत स्वास्थ्यसेवा केन्द्र, तीन प्राथमिक स्वास्थ्य केन्द्र, तीन सहरी स्वास्थ केन्द्र, सात सामुदायिक स्वास्थ्य इकाई र एक जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालय प्रमुख फणिन्द्र थापाले बताउनुभयो । स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको काम संघीय सरकारले सोझै स्थानीय तहसँग काम गर्ने भएकाले आफुलाई त्यस विषयमा जानकारी नभएको उहाँले प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो,‘‘स्थानीय तहमा निर्माणका प्रक्रियामा रहेका अस्पताल केन्द्र सरकार मातहात बन्छन् । हामीलाई यसको विषयमा खास जानकारी छैन । स्थानीय तहले नै त्यसको व्यवस्थापन गरिरहेका छन् ।’’ सरकारले जनतालाई आधारभूत सेवा दिने लक्ष्यले सुरुआत गरेको काममा ढिलाइ हुनु दुःखत रहेको स्थानीयवासीले बताउने गरेका छन् । कामलाई तोकिएको समयमा सम्पन्न गराउनको लागि सरोकारवाला पक्ष जिम्मेवार भएर लाग्नुपर्ने रामप्रसाद गाउँपालिकाका स्थानीयवासी अविषेक मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘सरकारले जनताको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै थालेका यस्ता कामलाई समयमा सम्पन्न गराउन पर्ने दायित्व स्थानीय सरकारको हो । आधारभूत अस्पताल नहुँदा जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । शिलान्यास भएको छ महिना हुन लाग्यो तर कामको प्रगति शून्य छ प्रायः यस्ता महत्वपूर्ण कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने हो । बेवास्ता गरेजस्तो देख्छु । धेरै स्थानीय तहले कामका प्रक्रियामा ढिलाइ गरिरहेका छन् ।’’

प्रतिक्रिया दिनुहोस