नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसङ्घद्वारा अनुमोदन


वासिङ्टन डिसी, ९ मङ्सिर (रासस) : नेपाललाई संयुक्त राष्ट्रसङ्घको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेश गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले राससलाई दिनुभएको जानकारीअनुसार नेपालको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्रसङ्घले बुधवार अनुमोदन गरेको हो । उक्त अवसरलाई सम्बोधन गर्दै राईले नेपालले आगामी पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो । राईले अगाडि भन्नुभयो, “नेपाल सरकारले स्तरोन्नतिसम्बन्धी रणनीति तर्जुमा समेत गरिसकेको छ, अब पाँच वर्षभित्र अर्थतन्त्रको संरचना तयार पारेर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उँचो बनाउने अवसर हो ।”

राईले नेपाल स्तरोन्नतिका लागि गरेको मेहेनतलाई कार्यान्वयन तहमा पुरयाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुुभयो, “सन् २०२६ पछि थपिन सक्ने चुनौतीलाई सम्बोधन गर्नसमेत हामीहरूले आग्रह गरेका छौँ, यसमा विकास साझेदार संस्थाहरुसँग छलफल गरेर एउटा निर्णयमा पुग्ने नै छौँ ।”

नेपालले सन् २०१५ र २०१८ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा गरेको थियो तर तत्कालीन अवस्थामा भूकम्पका कारणले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गर्नुपरेको भन्दै यो प्रस्तावसम्बन्धी कार्यलाई नेपालले पछि सारेको थियो । राष्ट्रसङ्घले विभिन्न मापदण्डका आधारमा तयार पार्ने अल्पविकसित देशहरुको सूचीमा नेपाल सन् १९७१ मा सूचीकृत भएको थियो । पचास वर्षपछि नेपालले विश्वमानचित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचीकृत गर्न सफल हुनु नेपालका लागि एक महत्वपूर्ण अवसर हो ।

यो पनि – सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौंः नेता थापा

चितवन, ९ मङ्सिर (रासस) : नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताउनुभएको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका नेता थापाले यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ । यो सम्भव छ ।”

नेता थापाले स्थानीय तहमा सहमतिमानै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभावपर्ने बताउनुभयो । आफू कुन पदमा उम्मेद्वारी दिने भन्ने विषयमा टुङ्गो नलागेको भन्दै उहाँले छलफलबाट पदको टुङ्गो लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मेरो उम्मेदवारी के मा भन्ने टुङ्गो लागेको छैन । छलफलबाट निस्कर्ष निकाल्छौं ।”

यस्तै नेकपा (एमाले)का नेता शेरबहादुर तामाङ्ले महाधिवेशनले सर्वसहमत नेतृत्व छनोट गर्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले अन्तिम समयसम्म सहमतिको प्रयास हुने र सहमतिमानै नेतृत्व चयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “साथीहरुले आन्तरिक तयारी सुरु गर्नुभएको छ । आकांक्षा राख्न पाइन्छ ।”

फरक प्रसङ्गमा बोल्दै उहाँले आफू सचिवको उम्मेद्वार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म काममा विश्वास राख्छु । कायकर्ताले दिएको जिम्मेवारीमा बस्छु । तर अपग्रेड हुने चाहना छ ।”

नेकपा एमालेका युवा नेता महेश बस्नेतले १०औँ महाधिवेशनले सबैलाई एक ठाउँमा बनाएर लैजाने बताउनुभयो । पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले माओवदीबाट आएका र १० वुँदे सहमतिबाट आएका नेताहरुलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अन्यमा समस्या छैन । १० बँुदे सहमतिपछि आएका नेतामा केही समस्या देखिएको हो । उहाँहरुलाई जिम्मेवारी दिएर व्यवस्थापन गर्न सकिन्छ ।”

महाधिवेशनले केपी शर्मा ओलीकै नेतृत्वमा एमालेलाई अघि बढाउने भन्दै उहाँले अन्य विषयमा छलफलबाट समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको महाधिवेशनले नयाँ र युवा पुस्ताको पनि व्यवस्थापन गर्न जरुरी छ ।” आफू सचिव पदको उम्मेदवार रहेको भन्दै उहाँले जिम्मेवारी दिँदा पुराना र नयाँलाई मिलाइर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेको पदाधिकारीको प्रवेश विन्दु नै सचिव हो । यसमा नयाँ र युवा पुस्ताको पनि सहभागिता आवश्यक छ ।”

 

प्रतिक्रिया दिनुहोस