सुनको मूल्य बढ्यो,यस्तो छ आजको भाउ


सुनचाँदी बजारमा साताको अन्तिम कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ४०० छ जसको मूल्य बिहीबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला रु ९३ हजार ७०० मा कारोबार भएको छापावाल सुन अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा प्रतितोला रु एक हजार ८०० ले घटेर ९१ हजार ९०० पुगेको छ । सार्वजनिक तथ्याङ्कानुसार गत आइतबारका तुलनामा सोमबार प्रतितोला रु २०० ले बढेको सुनको मूल्य त्यसपछिका दिनमा लगातार घटेको देखिन्छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन सुन तथा चाँदीका मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९५ डलर आसपासमा कारोबार भइरहेको छ ।

यो पनि – विपद्मा व्यवसाय निरन्तरता व्यवस्थापन योजनाको आवश्यकतामा जोड

विपद्को अवस्थामा उद्योग व्यवसायमा पर्न जाने प्रभावलाई न्यूनीकरणका लागि व्यवसाय निरन्तरता व्यवस्थापन (बिसिएम) बन्नुपर्ने कुरामा विज्ञले जोड दिएका छन् । एशियाली विपद् पूर्वतयारी केन्द्र(एडीपीसी) को आयोजनामा यहाँँ सञ्चालित प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानले पनि व्यवसायलाई निरन्तरता दिन योजना तर्जुमा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

एडीपीसीका राष्ट्रिय प्रतिनिधि मानबहादुर थापाले नेपालजस्तो विपद्को उच्च जोखिममा रहेको विकासोन्मुख मुलुकको आर्थिक विकासका लागि व्यावसायिक निरन्तरतासम्बन्धी योजना बन्नु आवश्यक रहेको बताउनुभयो । उहाँँले विपद्बाट साना तथा मझौला खालका उद्योग व्यवसायमा अझ बढी प्रभावित हुने हुँदा त्यस्तो जोखिमबाट बचाउन र व्यवसायमा नोक्सानी हुन नदिन यस्ता योजनाले ठूलो सहयोग पुग्ने धारणा राख्नुभयो । बिसिएम तीनै तहका सरकारदेखि निजी क्षेत्रले प्रयोगमा ल्याउन आवश्यक रहेको बताउँदै उहाँले यसलाई विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश गर्न सुझाव दिनुभयो ।

गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन केन्द्रका सुशील भण्डारीले विपद् व्यवस्थापनमा सरकार र निजी क्षेत्रको सहकार्य हुनु जरुरी रहेको उल्लेख गर्दै पूर्वतयारी जोखिम व्यवस्थापन रणनीति बन्नु जरुरी भएको बताउनुभयो । अमेरिकाको एक संस्थाले विश्वव्यापीरुपमा हालै गरेको एक अध्ययनमा विपद्बाट झण्डै ४० प्रतिशत व्यवसाय बन्द भएको जनाएको छ । यसमा कस्तो विपद् हुनसक्छ, प्रतिकार्य कसरी गर्न सकिन्छ र पुर्नलाभ कसरी हुन सक्छ भन्ने स्पष्ट उल्लेख हुने हुँदा यसले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठान, तिनमा काम गर्ने कर्मचारी मात्र नभई राज्यलाई नै प्रत्यक्ष फाइदा पुग्ने भएकाले विश्वका धेरै देशमा यसलाई अभ्यासमा ल्याइएको जानकारी दिइयो ।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपाल उद्योग वाणिज्य सङ्घ, उद्योग परिसङ्घ, विभिन्न बैंक तथा वित्तीय संस्था एवं पर्यटनसँग सम्बन्धित विभिन्न निकायका २७ जनाको सहभागिता रहेको छ । प्रशिक्षणमा विपद्पश्चात त्यसले व्यवसायमा पार्नसक्ने प्रभावको पहिचान गर्न, त्यसको समाधान गरी व्यवसायलाई छिटोभन्दा छिटो निरन्तरता दिन आवश्यक योजनासहितको बिसिएम कार्ययोजनालाई कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस