गङ्गालाल अस्पतालमा पनि पीसीआर परीक्षण शुल्क रु एक हजार


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा गरिने पीसीआर परीक्षण शुल्क अन्य सरकारी अस्पतालसरह रु एक हजार कायम गरिएको छ । सरकारी र निजी स्वास्थ्य संस्थामा पीसीआर परीक्षणबापत लिइएको शुल्कमा एकरुपता कायम गर्न र उक्त अस्पतालमा पनि अन्य सरकारी अस्पतालमा सरह शुल्क निर्धारण गर्न निर्देशन दिएपछि सोमबारबाट सो व्यवस्था कार्यान्वयनमा आएको हो ।

गङ्गालाल अस्पताल सञ्चालक समितिको अध्यक्षका हैसियतले मन्त्री खतिवडाले सो अस्पतालमा पीसीआर परीक्षण शुल्क रु एक हजार ७०० लिँदै आएकामा एकरुपता नभएको भन्दै सुलभ मूल्य कायम गर्न निर्देशन दिनुभएको थियो ।अहिले केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिललगायतका सरकारी अस्पतालमा रु एक हजार कायम छ भने विदेश जानेका लागि त्रिभुवन विमानस्थल परिसरमै निजी संस्थाले रु एक हजार २०० लिइरहेका छन् । स्वास्थ्य मन्त्रीको निर्देशन र अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीको तत्परतापछि आवश्यक प्रक्रिया पूरा गरी सोमबारबाटै लागू हुने गरी रु एक हजारमै पीसीआर परीक्षण शुल्क तोकिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ ।

मुटुको शल्यक्रिया गर्ने बिरामीको पीसीआर गर्दा शुल्क रु एक हजार मात्र लिन मिल्ने गरी विलिङ र सफ्टवेयर प्रणाली सोमबारबाटै कार्यान्वयनमा आएको र यसले सर्वसाधारणलाई राहत पुगेको स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिनुभयो ।

सरकारी अस्पतालमा इमर्जेन्सी सेवा निःशुल्क, सर्वसाधरणको सहज पहुँच र सेवा सुविधा पारदर्शी गर्ने सम्बन्धमा पनि छिट्टै निर्णय हुने उहाँले बताउनुभयो । मन्त्रालयका सचिव डा रोशन पोखरेलले अस्पतालका निर्देशक डा अधिकारीलाई स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन तत्काल कार्यान्वयन गरी नागरिकप्रति उत्तरदायी बन्न तथा पीसीआर परिक्षण शुल्क रु एक हजार कायम निर्देशन दिनुभएको छ ।

यो पनि – गर्भ खेरजाने समस्या बढ्दो

म्याग्दी, १३ मङ्सिर (रासस) ः जिल्लामा पछिल्ला केही वर्षदेखि गर्भ तुहिने र मृत नवजात शिशु जन्मने समस्या बढेको छ । बेनी अस्पतालमा रहेको मातृ तथा नवशिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपिडिएसआर) को तथ्याङ्कले गर्भ तुहिने र गर्भको उमेर पुगे पनि मृत जन्मने समस्या बढेको देखाएको हो । तथ्याङ्कअनुसार आव २०७५÷७६ मा स्वास्थ्य संस्थामा सुत्केरी हुन गएकामध्ये १२ जनाको पेटभित्रै मृत बच्चा थियो ।

सोही आर्थिक वर्षमा छ नवजात शिशुको २२ दिनभित्रै मृत्यु भयो । त्यसैगरी आर्थिक वर्ष २०७६÷७७ मा १५ गर्भवतीले मृत शिशु जन्माए भने एकजना आमाको सुत्केरीपछि रक्तश्राव भई मृत्यु भयो । तीन जना नवजात शिशुले ज्यान गुमाए । आव २०७७÷७८ मा २० जना गर्भवतीले जीवित शिशु जन्माउन सकेनन् । दुई नवजात शिशुको जन्मेको एक साताभित्रै मृत्यु भएको थियो ।

यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा पुगेका गर्भवतीको मात्र भएको अस्पतालको मातृशिशु सम्पर्क व्यक्ति मनदेवी गौतमले जानकारीदिनुभयो । “सामान्यतया गर्भ रहेको तीन महिनाभन्दा पहिला भु्रण आफैँ बाहिरिने समस्या लिएर गर्भवती स्वास्थ्य संस्थामा आउँदैनन्, अभिलेख पनि राखिँदैन”, उहाँले भन्नुभयो, “सुत्केरी हुने समय पुग्नै लाग्दा पेटमा बच्चा चलेन भन्दै आउँछन् । जाँच गर्दा मृत्यु भइसकेको हुन्छ । कति त पेटमै बच्चा सडिसकेको अवस्थामा आउँछन् ।”

गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था पनि हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन नसक्दा पनि भ्रुण÷शिशुको गर्भमै मृत्यु हुने अस्पतालका प्रमुख डा जीतेन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आमाको गर्भबाट भ्रुण वा शिशु २८÷३० हप्तासम्म गर्भाशयबाट बाहिर निस्कनुलाई गर्भ तुहिनु÷खेर जानु भनिन्छ ।

गर्भावस्थामा गाह्रो काम गर्दा, गम्भीर चोटपटक लागेमा, जथाभावी औषधि सेवन गरेमा, शरीरमा हर्मोनको असन्तुलन भएमा, यौनजन्य रोग लागेमा, पाठेघर असामान्य भएमा, पाठेघरभित्र अनावश्यक तन्तु वृद्धि भएमा, उमेर नपुगी गर्भ धारण गरेमा र गर्भको भ्रुणमा क्रोमोजोम खराब भएमा गर्भ खेर जाने वा मृत जन्मने समस्या आउने डा कडेलले बताउनुभयो ।

कहिलेकाहीँ गर्भ ३८–४० साता आयु पुगेपछि पनि अचानक गर्भमै मृत्यु पनि हुन सक्छ । “गर्भमा शिशु पूरा आयु नरहने समस्या अक्सर वंशाणुगतअर्थात् भ्रूणमा जेनेटिक डिफेक्ट रहेछ भने प्राकृतिकरुपमा भ्रुण गर्भमा बस्न सक्दैन, आफै निक्लन्छ तर हाम्रोमा अधिकांश भ्रुण परिपक्क भएपछि वा गर्भको बच्चालाई जीवित जन्माउन सकिने सम्भावना रहे पनि असावधानी÷सचेतनाको कमीले मृत शिशु जन्माउने धेरै छन्”, उहाँले भन्नुभयो, “अधिकांश गर्भवती गर्भको चारपटक परीक्षण गराउँदैनन् । नियमित गर्भ परीक्षण नहुँदा पाठेघरमा शिशुको अवस्थिति, पाठेघरको अवस्था र अन्य जटिलता थाहा हुँदैन । एक्कासि बच्चा चलेन भन्दै आउँछन् । बच्चा पेटभित्रै मरिसकेको हुन्छ । तीन महिनाभित्रको भ्रूण जाने÷तुहिने घटना त अभिलेख नै गरिँदैन ।”

प्रतिक्रिया दिनुहोस