रासायनिक मलबिनै खेती लगाउँदै किसान


भजनी, १५ मङ्सिर (रासस) ः कैलालीको भजनी नगरपालिका–६ का रामप्रसाद चौधरीले दश बिघा क्षेत्रफलमा गहुँखेती गर्नुभएको छ । यसवर्ष ढिलोसम्म वर्षा भएका कारण अन्य वर्षभन्दा ढिलो गरी गहुँखेती सुरु गर्नुभएका उहाँले मल नहालेरै खेतमा गहुँ छर्नुभएको छ ।

“युरिया मलजति पनि पाइन्छ , डिएपी मल जति खोज्दा पनि कतै पाइएन ।” उहाँले भन्नुभयो, “खेती लगाउनै प¥र्यो । खेत बाँझो राख्ने कुरा पनि भएन । भाडामा लिएर खेती गरेको जग्गा मालिकलाई भाडा दिनैपर्छ । मल बिना लगाएको खेतीको उब्जनी के होला र ?”

रासायनिक मलको चरम अभाव देखिएपछि उहाँ मात्रै नभइ अधिकांश किसानले मलबिनै खेती गर्न थालेका छन् । धानका मौसममा युरियाको र गहुँका मौसममा डिएपी मलको अभावले किसान बर्सेनि चिन्तित छन् । खेती लगाउदा रासायनिक मलको प्रयोग बढी भएका कारण कम्पोस्ट मलले उब्जनी राम्रो नहुने भन्दै किसान रासायनिक मलको प्रयोग बढी गर्दै आएका छन् ।

खेती गर्दा पनि माटोले रासायनिक मल प्रयोग नगरेर उत्पादन नै दिन नस्क्ने बताउँदै स्थानीयवासी अमर कठरियाले गहुँखेतीमा डिएपी मल अत्यावश्यक भएको बताउनुभयो । उहाँले बर्सेनि रासायनिक मलको अभाव हुने गरेको बताउँदै तीन तहको सरकार भएर पनि किसानलाई कुनै राहत नभएको गुनासो गर्नुभयो । कठरियाले सरकारले धानको समर्थन मूल्य तोक्ने खाद्यले धान खरिद नगर्ने जस्ता समस्यामा अझै पनि किसान रहेको जनाउँदै वास्तविक किसानलाई सरकार छ,भन्ने कुनै महसुस नै नभएको गुनासो गर्नुभएको छ ।

“चाहिएको समयमा नत मल पाइन्छ, नत सरकारले आफै तोकेको मूल्यमा हाम्रो उत्पादन बिक्री हुन्छ ।” उहाँले भन्नुभयो,“अनि कसरी भनौ किसानका लागि सरकार छ भनेर । यो वर्ष बाढी र डुवानका कारण भोकमरीको चिन्तामा किसान भए पनि सरकारले राहत दिने भनेको छ तर, कहिले दिन्छ त्यसको कुनै पत्तो छैन ।”

कृषि सहकारीमा पनि मल छैन । छिटफुट रुपमा बजारमा रासायनिक मल पाइए पनि सामान्य किसानले त्यत्रो मूल्य तिरेर मल खरिद गर्न सक्ने अवस्था नरहेको जोशिपुर गाउँपालिका–१ का किसान सीताराम चौधरीले जानकारी दिनुभयो । “केही व्यापारीले भारतबाट अवैध रुपमा मल खरिद गरेर नेपाली बजारमा बिक्री गर्दै आएका छन् ।

त्यो मल आम किसानले खरिद गर्न सक्दैन ।” उहाँले भन्नुभयो, “समयमा मल नपाउँदा गहुँखेती गर्ने समय ढल्किदैछ । मल पाइएको छैन । यो वर्ष उत्पादनमा निकै ह्रास आउने निश्चित छ ।” जानकी गाउँपालिका–४ मा रहेको मुनुवा कृषक सहकारी संस्थासँग पनि रासायनिक मल छैन । सहकारीले करिब तीन सयभन्दा बढी हेक्टर क्षेत्रफलमा गहुँको बीउ उत्पादन गर्दै आएको छ । मल नपाएपछि गहुँ छर्न ढिलो भइसकेको बताउँदै सहकारीका व्यवस्थापक गोविन्दराज रावतले मलका लागि भैरहवा पठाएको गाडी खाली फर्किएको जानकारीदिनुभयो ।

“भैरहवामा डिएपी मल छ, भन्ने सुनेपछि सहकारीको गाडी मल ल्याउनका लागि भैरहवा पठाएका थियौं । डिएपी ल्याउन पठाएको गाडीमा युरिया मल ल्याउनुपर्यो ।” उहाँले भन्नुभयो, “मलको अभाव हाम्रो क्षेत्रमा मात्रै होइन, देशैभरी हाहाकार छ । सरकारले आवश्यकता भन्दा बढी मल आयात भएको छ भन्छ । तर किसानको खेतमा एक दाना पनि मल पुग्दैन ।”

प्रतिक्रिया दिनुहोस