कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा


नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी हुनुभएको छ । उहाँले आफ्नो निकटतम प्रतिस्पर्धी पार्टीका निवर्तमान सभापति विनोदकुमार बस्नेतलाई १४२ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।मङ्सिर २ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारले कांग्रेसको विधान बमोजिमको मत ल्याउन नसक्दा सो पदका लागि दोस्रो चरणको निर्वाचन मङ्गलबार भएको थियो । कूल ८९७ मत खसेकोमा सोलु दूधकुण्ड नगरपालिकाका प्रमुखसमेत रहनुभएका शेर्पाले ५१३ र बस्नेतले ४७१ मत प्राप्त गर्नुभएको थियो ।

पहिलो चरणको निर्वाचनमा ८८२ मत खस्दा बस्नेतले ४२८ र शेर्पाले ४१८ मत प्राप्त गर्नुभएको थियो भने सभापति पदका अर्का उम्मेद्वार रामबहादुर बस्नेतले ५ मत प्राप्त गर्नुभएको थियो । अघिल्लो मतपरिणाम अनुसार १० मत अन्तरले अगाडि रहनुभएका बस्नेत दोस्रो चरणको निर्वाचनमा भने १४२ मत अन्तरले हार बेहोर्नुभएको छ ।

यो पनि – नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी समावेशी दलिततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।बझाङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित उहाँले पार्टीका नेता र साथीहरूसँग छलफल गरी केन्द्रीय कार्यसमितिमा बसेर पार्टीको भावी कार्यदिशाबारे योगदान गर्न सक्छु भन्ने उद्देश्यले उम्मेदवारी दिने निधो गरेको बताउनुभयो । नेपाल दलित सङ्घका पूर्वकेन्द्रीय महासचिव रसाइली विद्यार्थी कालबाटै कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ ।

उहाँले कांग्रेसमा सामान्य नागरिकका मुद्दा उठाउन आफूले उम्मेदवारी दिएको बताउँदै कांग्रेसले निम्न आय भएका तथा सुकुम्वासी, भूमिहीन, दलित, मजदूर वर्गका मुद्दालाई उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।युवा नेता रसाइली २०७४ सालको संसदीय निर्वाचनमा कांग्रेसका तर्फबाट समानुपातिक सङ्घीय सांसद हुनुहुन्छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस