उच्चस्तरको भ्रमण र वैदेशिक लगानीलाई प्राथमिकता दिन्छौँ : प्रस्तावित राजदूतत्रय


भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतले मुलुकको राष्ट्रियहित र स्वाधीनतालाई शिरमा राखेर आर्थिक कूटनीतिद्वारा लगानी भित्र्याउन भरमजदुर प्रयास गर्ने बताउनुभएको छ । संसदीय सुनुवाइका क्रममा उहाँहरूले नेपालको विकास र समृद्धिका सहयात्री मुलुकसँग बृहद् राष्ट्रिय स्वार्थका आधारमा विश्वास स्थापित गर्न हरसम्भव प्रयत्न गर्ने अठोेट व्यक्त गर्नुभएको हो ।

सरकारले भारतका लागि डा शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएकामा समितिले सर्वसम्मतिबाट तीनै जनाको नाम अनुमोदन गरेको छ । समितिसमक्ष आफ्नो अनुभव, योग्यता, क्षमता, अभिरुचि र अवधारणा प्रस्तुत गर्ने क्रममा उहाँहरुले नियुक्ति भएर जाने तत् देशबाट उच्चस्तरको भ्रमणका लागि विशेष पहल गर्ने, त्यहाँ रहेको नेपालीको हितमा काम गर्ने र लगानी भित्र्याउने विषयलाई प्राथमिकतामा राखेर प्रतिबद्धता जनाउनुभयो ।


संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य आफ्नो भनाई राख्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

उहाँहरूले मुलुकको संविधान र परराष्ट्र नीतिका आधारमा विवेक पु¥याई कर्तव्यनिष्ठ भएर वैदेशिक सहयोग प्रवद्र्धनका लागि जोड दिने बताउनुभयो यसअघि बैठकमा सदस्यहरूले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र धन नेपालमा भित्र्याउने सुझाव दिनुभयो । उहाँहरुले राजनीतिक प्रक्रिया र कूटनीति संयन्त्रका आधारमा समृद्धि भित्र्याउन भूमिका खेल्न तथा युवाको सपनालाई साकार तुल्याउने कामका लागि कार्यायोजना बनाएर काम गर्न निर्देशन दिनुभयो ।

अघिल्लो सरकारले नियुक्ति गरेका तत्तत् देशका राजदूत फिर्ता बोलाएपछि ती मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस भएका तीनैजनाको नाम अनुमोदन भएसँगै नियुुक्तिका लागि बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट उहाँहरुको नियुक्ति हुनेछ । प्रस्तावित तीनैजना नेपालको आर्थिक र कूटनीतिक क्षेत्रका हस्तीका रुपमा परिचयन बनाउनुभएका व्यक्तित्व हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस