जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको चौथो दिन तिलकोत्सव सम्पन्न


सप्ताहव्यापीरूपमा जनकपुरधाममा सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत आज चौथो दिन तिलकोत्सव विधि धुमधामका साथ सम्पन्न भएको छ । त्रेतायुगमा भगवान् श्रीराम र सीताको विवाह भएको स्मृतिमा जनकपुरधाममा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत आज तिलकोत्सव विधि सम्पन्न गरिएको राम मन्दिरका महन्थ राम गिरीले बताउनुभयो ।

जनकपुरधाममा आइतबार रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ हेर्न आएका सर्वसाधारण । तस्बिरः अजयकुमार साह÷रासस

राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट भार (कोसेली) लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव पुग्नुभएको थियो । त्रेतायुगमा मिथिलाका राजा जनक र अयोध्याका भगवान् श्री रामका बुबा राजा दशरथबीच भएको सम्धी मिलनको दिनलाई स्मरण गर्दै विवाहपञ्चमीको चौथो दिन तिलकोत्सव मनाइने गरिन्छ ।

तिलकोत्सवमा दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका छोटे महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गर्नुभएको थियो । छोटे महन्थ रामरोशन दासले अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले अङ्कमाल गर्दै सम्धी मिलन गरी तिलकोत्सव मनाइएको हो ।

सो अवसरमा जनकपुरधामको नगर परिक्रमा गर्दै साधुसन्तहरुको टोली बाजागाजासहित एक सय भार (कोसेली) लिएर राम मन्दिरमा पुग्दा राम मन्दिरका महन्थ राम गिरी, गुठी संस्थान जनकपुरधामका कार्यालय प्रमुख, महावीर युवा कमिटी, श्रीराम युवा कमिटीका पदाधिकारी तथा स्थानीयवासीले स्वागत गरेका थिए ।

यता बेहुली पक्षबाट जानकी मन्दिरका महन्थसहित जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलासहितका प्रशासनिक निकायका पदाधिकारी, राजनीतिक दलका व्यक्तिहरू सहभागी हुनुभएको थियो । कार्यक्रममा महिलाहरूले मिथिलाञ्चलमा वैवाहिक कार्यक्रमको अवसरमा गाइने मैथिली गीतका साथै विभिन्न प्रकारको हास परिहासहरूका सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो ।

अब विवाहपञ्चमीअन्तर्गत भोलि पाँचौँ दिन मङ्गलबार जानकीको मटकोर विधि हुनेछ । मटकोर विधि गङ्गासागर पोखरीमा हुनेछ भने छैटौँ दिन बुधबार विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम हुनेछ । सातौँ अर्थात् अन्तिम दिन बिहीबार रामकलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाहपञ्चमी विधिवत्रूपमा सम्पन्न हुनेछ । यसअघि नगर दर्शन, फूलबारी लीला तथा धनुष यज्ञ सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस