नरहरि आचार्यको ‘जीवनको पाठशाला’ पुस्तक सार्वजनिक


काठमाडौँ, २३ मङ्सिर (रासस) : नेपाली कांग्रेसका नेता नरहरि आचार्यको जीवनीमा आधारित ‘जीवनको पाठशालाः सम्झना र सम्बन्ध’ नामक पुस्तक बजारमा आएको छ । साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा आचार्यको राजनीतिक जीवनका भोगाइ र घटनाक्रमलाई समेटिएको छ । राजनीतिक घटनाक्रम र आफ्ना सम्बन्धलाई आचार्यले आकर्षकरूपमा प्रस्तुत गर्नुभएको छ । उक्त पुस्तकको आज यहाँ आयोजित एक कार्यक्रममा आचार्य, राजनीतिक विश्लेषक सिके लाल, प्राध्यापक सावित्री मल्ल र कवि शारदा शर्माले संयुक्तरूपमा विमोचन गर्नुभयो ।

पुस्तकका लेखक आचार्यले आफ्नै जीवनको पाठशालाका रूपमा पुस्तक आएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले पुस्तकमा जीवनको अन्तरङग, भोगाइ, राजनीतिक जीवन र सङ्घर्षलाई उजागर गरेको बताउनुभयो । नेपाली कांग्रेसका नेता आचार्यले मुलुकमा संविधान बनेको पाँच वर्ष बितिसक्दा पनि कसैले जिम्मेवारी नलिएकामा दुःख व्यक्त गर्नुभयो । उहाँले प्रदेश पनि भूमिकाविहीन बनेको र सङ्घले आवश्यक कानून बनाउन नसक्नु विडम्बना भएको टिप्पणी गर्नुभयो । नेता आचार्यले संविधानको कार्यान्वयन गर्दै कांग्रेसले जिम्मेवारी लिएर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो ।

पुस्तकको समीक्षा गर्दै राजनीतिक विश्लेषक सिकेलालले जीवनलाई पाठशालाको रूपमा लिइयो भने सहज हुन्छ, दुःखले धेरै कुरा सिकाउँछ, फर्केर हेर्दा जीवन सहज हुन्छ भन्ने सन्देश पुस्तकले दिएको बताउनुभयो । घटनाको विवरण, काठमाडौँको बाल्यकाल, तनहुँको चुँदी रम्घाको केही पल, मध्यमवर्गीय ब्राह्मण समाजको चित्रण, दरबारसँग नजिक हुन नसकेको र टाढा हुन पनि नसकेको आत्मचिन्तन र मूल्याङ्कन पनि पुस्तकमा झल्किएको उहाँले बताउनुभयो ।

प्राध्यापक मल्लले उपन्यास शैलीमा लेखिएको पुस्तकले आचार्यको जीवनसँग जोडिएको आत्मकथाको व्याख्या गरिएको बताउनुभयो । शारीरिक कठिनाइ र भोगाइलाई पनि पुस्तकले समेटेको र बालकदेखि सक्रिय जीवनसम्मका अवस्थालाई पुस्तकमा अटाइएको बताउनुभयो । आचार्यकी धर्मपत्नी कवि शारदा शर्माले धेरै प्रकारका अफठ्याराबीच पुस्तक बजारमा आएको र यसले समेटेका विषयवस्तु रोचक र उत्प्रेरक भएको उल्लेख गर्नुभयो ।

कांग्रेसभित्र गणतन्त्रवादी नेताका रूपमा चिनिनुहुने आचार्य नेपाली राजनीतिमा परिचित नाम हो । उहाँले सक्रिय राजनीतिमा आउनुपूर्व झण्डै डेढ दशक प्राध्यापन गर्नुभएको थियो । नेपालको संविधान जारी हुँदाताका आचार्य कानून, न्याय तथा संसदीय मामिलामन्त्री हुनुहुन्थ्यो ।

यो पनि – कर्णाली लोकसेवा आयोगको ४५ दरबन्दी स्वीकृत

कर्णाली, २३ मङ्सिर (रासस) : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगका लागि ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश लोकसेवा आयोगको सङ्गठन संरचना हेरफेर गरी तीन महाशाखा र १० शाखासहित ४५ कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उक्त बैठकले गएको कात्तिक २९ गते छायाँनाथ रारा नगरपालिका–१ मुगु गमगढी बजारमा भएको आगलागीका पीडितिलाई सङ्लग्न विवरणअनुसार रु ६१ लाख ८५ हजार राहत दिने निर्णय गरेको प्रवक्ता विष्टले बताउनुभयो । “राहत रकम जिल्ला प्रशासन कार्यालय मुगुलाई निकासा दिन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “राहत रकम जतिसक्दो छिट्टै जान्छ ।”

राहत रकम भने रु १० लाख बराबरको घर पूर्णक्षति भएमा रु एक लाख, रु ११ देखि ५० लाख क्षति भएकालाई रु.एक लाख ५० हजार, रु.५१ देखि एक करोड क्षति भएकालाई दुई लाख, एक करोड ५० लाख क्षति भएमा रु दुई लाख ५० हजार, रु तीन करोड क्षति भएकालाई रु तीन लाख ५० हजार र रु तीन करोडमाथि क्षति भएकोलाई रु चार लाख रकम दुई किस्तामा दिइने निर्णय भएको प्रवक्ता विष्टले बताउनुभयो ।

प्रदेश सरकारले आंशिक क्षति भएका घर, व्यापारी र भाडामा बस्नेलाई पनि रु २० हजारदेखि रु एक लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । पत्रकार भेटघाटको अवसरमा मन्त्री विष्टले सत्ता गठबन्धन दलको पार्टीको अधिवेशन सकिने बित्तिकै सरकारले पूर्णता पाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस