माध्यमिक तहमा शिक्षकका लागि दरखास्त आह्वान


शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट आज सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । आयोगले नेपाली विषयमा कूल २३१, अङ्ग्रेजी विषयमा ३१२, गणित विषयमा २८९, विज्ञान विषयमा ४३५, सामाजिक अध्ययन विषयमा २०१, अर्थशास्त्र विषयमा १० र कार्यालय सञ्चालन तथा लेखा विषयमा ५१ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

शिक्षा, शुक्लयजुर्वेद, स्वास्थ्य, संस्कृत व्यापकरण, संस्कृत भाषा, संस्कृत साहित्य, कम्प्युटर विज्ञान, न्यायजस्ता विषयमा शिक्षकका लागि दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ । अठार वर्ष उमेर पुगेर ४० वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ भने लिखित परीक्षा आगामी चैत १५ गतेका लागि निर्धारण गरिएको छ । शिक्षकका लागि आवेदन दिन शिक्षक सेवा आयोगको आधिकारिक अनलाइन जततउकस्ररयलष्लिभ।तकअ।नयख।लउ दरखास्त प्रणालीमार्फत आगामी पुस २९ गतेसम्म अनलाइन दरखास्त दिनसक्ने व्यवस्था गरेको छ । माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले पनि चिकित्सा शिक्षा स्नातक तहका विभिन्न कार्यक्रमका एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । आज आयोगले एक सूचना जारी गर्दै आगामी पुस १४ देखि २० गतेभित्र योग्यता पुगेका उम्मेदवारलाई अनलाइन आवेदन भर्न आह्वान गर्दै सूचना जारी गरेको हो । आयोगले अनलाइन आवेदन पेस गर्नेबारे आयोगको वेबसाइटमा सूचना राखिएको जानकारी दिएको छ ।

यो पनि – शैक्षिक विकास र दक्ष जनशक्ति तयार गर्न काठमाडौँ विश्वविद्यालयको योगदान महत्वपूर्ण ः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोहका अवसरमा आज विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाउनुभएको शुभकामना सन्देशमा सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले हालको मुख्य राष्ट्रिय चिन्ताको विषय बनेको जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै गएको सम्बन्ध र मुलुकको विकासमा अभाव हुँदै गएको दक्षजनशक्तिको समस्यालाई केही हदसम्म भए पनि सम्बोधन गर्न सार्थक र सफल भएको जनाउनुभएको छ ।

विश्वविद्यालयको कुलपतिसमेत रहनुभएका प्रम देउवाले स्थापनाको तीन दशक पूरा गरेको उपलक्ष्यमा यसका संस्थापक र सम्पूर्ण विश्वविद्यालय परिवारलाई बधाई दिनुभएको छ । सन्देशमा भनिएको छ, “मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आलोचनात्मक सीपयुक्त र समय सुहाउँदो वैज्ञानिक एवं प्राविधिक ज्ञानले सुसज्जित जनशक्ति आवश्यक छ ।”

प्रम देउवाले उच्च शिक्षा आर्जनका लागि नेपालीले बर्सेनी विदेशी विश्वविद्यालयलाई तिर्ने अरबौँ रकम मुलुकभित्रै सदुपयोग गर्ने वातावरण निर्माण गर्न पनि नागरिकको मागअनुरुप शैक्षिक गुणस्तर मुलुकभित्रै विकसित गर्नु अपरिहार्य भइसकेको उल्लेख गर्नुभएको छ । उहाँले विश्वविद्यालयले यी विविध क्षेत्रका लागि जनशक्ति उत्पादन गरेर मुलुकलाई ठूलो गुन लगाएको जनाउनुभएको छ । “उच्च शिक्षाको उद्देश्य सीपयुक्त जनशक्ति उत्पादन गर्नु त हुँदै हो, त्यसभन्दा पनि बढी महत्वपूर्ण विषय हालका युवालाई असल, चरित्रयुक्त र देशभक्तिले भरिएको नागरिकमा रुपान्तरण गर्नु हो, यस विषयमा पनि विश्वविद्यालयले सधै झैँ उचित ध्यान पु¥याएको मलाई लाग्छ”, उहाँले भन्नुभएको छ ।

प्रम देउवाले आजका युवा मुलुकको भविष्य निर्माता भएको चर्चा गर्दै असल र जिम्मेवार नागरिकका रुपमा मुलुकको उन्नति र प्रगतिमा निरन्तर योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ । आज विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित हुँदैछन् ।

यो पनि – कांग्रेस सभापति देउवालाई सुशील कोइराला फाउन्डेसनको बधाई

नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित हुनुभएकामा प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवालाई सुशील कोइराला मेमोरियल फाउन्डेसनले बधाईसहित सफल कार्यकालका लागि शुभकामना दिएको छ ।  फाउन्डेसनका अध्यक्षसमेत रहनुभएका पार्टी महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज जारी गर्नुभएको विज्ञप्तिमा दोस्रो कार्यकालमा पार्टीभित्र पूर्ण एकता एवं मेलमिलाप कायम गर्दै आगामी तीनै तहको निर्वाचनमा बहुमत दिलाउन सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

पार्टीभित्र सबैलाई मिलाएर लैजाने जिम्मेवारीसमेत सभापतिकै काँधमा रहेकाले आगामी दिनमा आन्तरिक एकता एवं मेलमिलाप कायम गर्न पनि सभापतिलाई सफलता मिलोस् भनी वक्तव्यमा कामना गरिएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्गलबार भएको दोस्रोचरणको निर्वाचनमा देउवा निर्वाचित हुनुभएको थियो । सभापति देउवाको यो दोस्रो कार्यकाल हो । यसअघि विसं २०५९ असारमा नेपाली कांग्रेसबाट विभाजित भई बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति भएर पनि देउवाले काम गरिसक्नुभएको छ । कांग्रेस प्रजातान्त्रिकले विसं २०६४ मा नेपाली कांग्रेससँग पार्टी एकीकरण गरेको थियो ।

यो पिन – सभापतिमा पुनः निर्वाचित भएकामा देउवालाई अध्यक्ष नेपालको बधाई

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित हुनुभएको छ ।

यो पनि – नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री देउवाको जीवनी

काठमाडौँ, २९ मङ्सिर (रासस) ः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्नुभएको हो ।

पुनः मतदानमा निर्वाचनमा सभापति पदका पहिलो चरणका अन्य प्रत्यासी नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थनसहित देउवा विजयी हुनुभएको हो । यही मङ्सिर २४ गते महाधिवेशन उद्घाटन समारोहमा उहाँले आफूलाई पार्टी विधानअनुसार अन्तिम पटकका लागि सभापतिमा विजयी गराउन आह्वान गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले आफू पुनः सभापतिमा विजयी भएपछि आगामी तीनै तहका निर्वाचनमा पार्टीलाई विजयी गराएर तीनै तहमा कांग्रेसको सरकार बनाउने उद्घोष गर्नुभएको थियो ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिनुभएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उहाँ हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ ।विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उहाँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिउनु भएको हो । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नुभएको छ ।

नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुनुहुन्छ । विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उहाँ २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी हुनुभएको थियो ।

विसं २०४८ मा गृहमन्त्री बन्नुभएका देउवाले हालसम्म गरी पाचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री हुनुभएका देउवा २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएको थियो । सोही वर्ष असोज १८ मा उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गर्नुभएको थियो । प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उहाँलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गर्नुभएको थियो ।

प्रधानमन्त्री हुँदा उहाँले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याएर जनताको विश्वास जित्नुभएको थियो । उहाँकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उहाँ सभापति बन्नुभयोे । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उहाँ काँग्रेसको वरिष्ठ नेता हुनुभएको थियो । त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उहाँ तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको थियो । सभापति एवं पार्टी संसदीय दलका नेता देउवाले व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार सङ्घीय संरचनाका तीन तहका निर्वाचन गराउनुभएको थियो ।

सभापति देउवा २०७८ साल असार २९ गते पाचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुनुभएको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै असार २८ गते पुनःस्थापनाको फैसलाका साथ उहाँलाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उहाँ सन् २०१३ देखि उक्त संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुनुहन्छ । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताउनुभएको छ ।

यो पनि- नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उहाँ विजयी हुनुभएको हो । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी हुनुभएको हो ।

सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी हुनुभएको हो । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गर्नुभएको थियो भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत बदर भएको थियो ।

दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५७४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा शेखर कोइरालाबीच मङ्गलबार पुनः मतदान भएको हो ।

सोमबार भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।

यो पनि – कांग्रेस सभापतिको मतगणना ः देउवाको अग्रता कायमै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म १ हजार ८०० मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । सभापतिका उम्मेदवार देउवालाई एक हजार ४० मत प्राप्त भएको छ भने उहाँका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले ७४१ मत प्राप्त गर्नुभएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यो पनि – कांग्रेस सभापतिको पुनः मतदानको मतगणनामा देउवालाई प्रारम्भिक अग्रता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म ९९९ मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । सभापतिका उम्मेदवार देउवालाई ५९० मत प्राप्त भएको छ भने उहाँका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले ४०१ मत प्राप्त गर्नुभएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  त्यस्तै आठ मत बदर भएको पनि सो समितिले जनाएको छ । –––

प्रतिक्रिया दिनुहोस