निर्वाचनमा तीन दिन विद्यालय बन्द


काठमाडौं । आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा तीन दिन विद्यालय बन्द हुने भएका छन् ।

निर्वाचनका लागि मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुने भएका हुन् । आगामी ३० वैशाखमा स्थानीय तहको मतदानको दिन तोकिएको छ । मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले पनि तीन दिन बिदा दिने तयारी गरिएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले २८ वैशाखदेखि ३० वैशाखसम्म विद्यालय बन्द हुने बताएका छन् ।

शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकाले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयमा विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन आग्रह गरेको छ ।

केन्द्रले सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशनसमेत दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रबमोजिम आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न विद्यालय बन्द गर्न निर्देशन दिइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

निर्वाचनका लागि तीन दिन बिदा दिएस“गै लगातार ६ दिन विद्यालय बन्द हुने भएका छन् । ३१ गते शनिबार, जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुई दिन बिदा दिने सरकारी निर्णय भएको तथा २ गते बुद्धजयन्ती परेकाले ३ गते मात्र विद्यालय खुल्ने भएको छ ।rajdhanidaily

प्रतिक्रिया दिनुहोस