सरकारको नीति तथा कार्यक्रम : सातै प्रदेशमा सुविधासम्पन्न रंगशाला


काठमाडौँ । नेपाल सरकारले सातवटै प्रदेशमा सुविधासम्पन्न दशरथ रंगशाला निर्माण गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा खेलकुदतर्फ सरकारले सातवटै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने उल्लेख गर्नुभएको हो ।

कार्यक्रममा सरकारले आगामी आर्थिक बर्षमा एउटा प्रदेशमा एउटा प्रशिक्षण केन्द्रसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्दै लैजानेउल्लेख छ । सरकारले नीति तथा कार्यक्रममा चितवनको गैडाकोटमा विपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम बनाउने, सबै स्थानीय तहमा खेलग्राम निर्माण गर्ने र हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने कार्यलाई पनि समेटेको छ ।

सरकारको नीति तथा कार्यक्रममा खेलाडीलाई पुरस्कार, भत्ता र विमाको ब्यवस्था गरिने, फप्लामा क्रिकेट स्डेडियम निर्माण, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाकी काम पूरा गर्ने र प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गर्ने पनि उल्लेख छ ।

यसैगरी आगामी वर्ष नेपालमा साहसिक तथा पर्वतीय खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने, हरेक स्थानीय तहमा खेलग्राम निर्माण गरिने योजनालाई निरन्तरता दिइने, खेलाडीको क्षमता अभिबृद्धिका लागि अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता र प्रशिक्षणको ब्यवस्था गरिने, हरेक नागरिकलाई शारीरिक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद शारीरिक ब्यायाम, योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिने कार्यक्रममा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।गोरखापत्र

प्रतिक्रिया दिनुहोस