विदेशबाट फर्किने नागरिकलाई दुई हप्ता क्वारेन्टाइन


काठमाडौं । सरकारले नेपालमा मङ्कीपक्स भाइरस भित्रन नदिन विदेशबाट फर्किने नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस बिफ्रिङमा बोल्दै मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले नेपालमा मङ्कीपक्स भित्रन नदिन विदेशबाट फर्किएका नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “नेपालमा मङ्कीपक्स पृष्टि भएको छैन तर, पनि मन्त्रालय सचेत रहेको छ । यो रोग नेपालमा भित्रन नदिन विदेशबाट आउने विदेशी तथा स्वदेशी नागरिकलाई कम्तीमा दुई हप्ता क्वारेन्टाइनमा बस्न अनुरोध गर्दछु ।” यो रोग नयाँ रोग नभएको र कोरोना भाइरस जस्तो संक्रामक नभएकाले त्रासित नहुन डा अधिकारीले अनुरोध गर्नुभयो । त्यसका साथै व्यक्तिगत सरसफाइको पालन गर्न पनि डा अधिकारीको अनुरोध छ ।

मे ७ मा नाइजेरियाबाट फर्किएका बेलायती नागरिकमा मङ्कीपक्स भाइरस देखिएको थियो । त्यसयता अहिलेसम्म १६ वटा अफ्रिकी बाहिरका देशका २५० भन्दा बढी मानिसमा यो रोग फैलिसकेको छ । अफ्रिकी देशहरुमा फैलँदै आएको यो फाइरस बिस्तारै अफ्रिकी देशभन्दा अन्य देशमा फैलनु जनस्वास्थ्यको हिसाबले चिन्ताको विषय बनेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले उक्त भाइरस गैरस्थानीय देशमा फैलनु असामान्य रहेको बताउँदै आएको छ । मङ्कीपक्स के हो रु ‘मङ्कीपक्स भाइरस’ कुनै नौलो भाइरस होइन । मङ्कीपक्स भाइरस पहिलो पटक सन् १९८५ मा अनुसन्धानमा राखिएका बाँदरमा देखिएको थियो । मानिसमा भने यो भाइरस पहिलो पटक १९७० मा पृष्टि भएको थियो । एसियामा सन् २०१९ मा सिङ्गापुरमा नाइजेरियाबाट आएका व्यक्तिमा मङ्कीपक्स भाइरस देखिएको थियो । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार ‘मङ्कीपक्स भाइरस’ भएका बाँदर, मुसालगायतका जनावरबाट मानिसमा फैलने संक्रामक रोग हो ।

डा. पुनका अनुसार यो भाइरस दुई प्रकारका हुन्छन् । डा पुन भन्नुहुन्छ, “मध्ये अफ्रिकी देशमा देखिएको भाइरस पश्छिम अफ्रिकामा देखिएको भाइरसभन्दा घातक देखिन्छ । जसमा १० प्रतिशतको मृत्यु हुने भनिएको छ । पश्चिम अफ्रिकामा देखिएको भाइरसको भने एक प्रतिशत मृत्यु हुने देखिएको छ । अहिले फैलिएको मङ्कीपक्स भाइरस पश्चिम अफ्रिकामा देखिएको भाइरस भनेर अध्ययनहरुले देखाएका छन् ।” लक्षणहरु मङकीपक्स संक्रमण गराउने भाइरस छालामा हुने घाउ, श्वासनली, आँखा, नाक, मुखका माध्यमबाट मासिसको शरीरमा प्रवेश गर्ने डा पुन बताउनुहुन्छ ।

संक्रमित व्यक्तिमा ज्वरो आउने, टाउको, डाढ र मांसपेसी दुख्ने, लिम्फनोड ग्रन्थि सुनिने यसका प्रारम्भिक लक्षण हुन । डा पुनका अनुसार ज्वरो आएको एक देखि तीन दिन पछि छालामा दाग देखिने, अनुहार, हत्केला र पैताला शरीरमा पानीको फोकाजस्ता बिबिरा देखिने गर्छ । साथै बिस्तारै पानीको फोका जस्तो आउने र ती फोका चिलाउने र दुख्ने, परिवर्तन हुने र फुट्ने तथा बिस्तारै सुक्ने उचेर निस्कने गर्दछन् ।

घाउ १४ दिन देखि २१ दिनसम्म रहने र सामान्यतया आफै हराउने चिकित्सक बताउँछन् । यो भाइरस धेरै मानिसमा उपचारविनानै केही हप्ता भित्र निको हुने गर्दछन् । नवजात शिशुहरु, बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा मङ्कीपक्स भाइरस बढी जोखिम हुने डा पुन बताउनुहुन्छ । बच्ने उपाए अहिलेसम्म कुनै उपचार पत्ता नलागेकोले यसको नियन्त्रण, रोकथाम र यसबाट बच्ने र सुरक्षाका उपायहरु अपनाउनु जरुरत छ ।

मङ्कीपक्स शंका वा पृष्टि भएका व्यक्तिमा प्रत्यक्ष सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई अलगै राख्ने र छालाको घाउ छोपेर राख्ने, संक्रमित व्यक्ति र हेरचारमा खटिने व्यक्तिले माक्स लगाउने, घाउ छुँदा, प्रत्यक्ष सम्पर्क हुँदा पन्जाको प्रयोग गर्ने, नियमित रुपमा साबुनपानीले हात धुन चिकित्सको सुझाव छ । संक्रमित भएका व्यक्तिले प्रयोग गरेका भाडा, कपडा राम्ररी साबुनपानीले धुन चिकित्सकको सुझाव दिन्छनु ।

पछिल्लो समय विफर विरुद्धको औषधि प्रभावकारी भएको अध्ययनले देखाएको डा पुनले जानकारी दिनुभयो । यो भाइरस सनै नदिन संक्रमितको सम्पर्कमा आएको स्थान नि संक्रमण गर्ने र फोहोरहरुलाई उचित व्यवस्थापन गर्नु पर्ने हुन्छ । मङ्कीपक्स भाइरससँग कोभिड–१९ झैं डराउनु पर्ने अवस्था नभएको डा. पुन बताउनुहुन्छ । तर यो फैलिएका देशबाट देशबाट फर्किएका मानिसहरु क्वारेन्टाइनमा बस्ने र यदि २१ दिनभित्र लक्षण देखिएमा चिकित्सकको सल्लाह लिन डा. पुनको आग्रह छ ।
गोरखापत्र ताजा

प्रतिक्रिया दिनुहोस