एमाले रहेसम्म विकासको गति नरोकिने महेश बस्नेतको घोषणा


भक्तपुर, ४ असार । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित पुरानो बसपार्कसँगै रानी खोलामा नवःनिर्माण सम्पन्न मोटरेबल बक्स ब्रिज पुलको उद्घाटन गरिएको छ । वडा नम्वर ७ को आयोजनामा नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त पुल आज एक कार्यक्रमका बिच उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले विगतमा एमाले नेतृत्वको सरकारको पालामा नै ल्याएको बजेटका कारण हालसम्म पनि भक्तपुरमा उद्घाटन र शिलान्यासका कार्यहरु तिव्र गतिका साथ भइरहेको दावी गरे । वर्तमाान पाँच दलीय गठबन्धनको सरकारले विकास गर्ने नभई भइरहेको विकासलाई समेत रोकेर विकास र समृद्धिमा समेत राजनीति गरेको भन्दै उनले आक्रोस जनाए । वर्तमान सरकारले भक्तपुरमा विगतमा सञ्चालनमा रहेको आयोजना तथा नयाँ कुनै पनि योजनाहरु नबनाएको तथा विगतका योजनाहरुलाई कटौती गरी जनताको विकास प्रतिको चाहनामा गंभिर चोट पुर्याएको उनले उल्लेख गरे।

गुण्डुवासी तथा नेकपा एमाले भएकै कारण गौरव गर्ने गरी विकासको कामहरु भइरहेको उल्लेख गर्दै उनले एमालेको विरुद्धमा रहेका राजनीतिक दलहरुले भक्तपुरको विकासमा भ्रम फैलाएको आरोप लगाए । एमालेले गरेको अनेकन कामहरु प्रति जनतामा भ्रम फैलाउने कार्य गरेको उल्लेख गर्दै एमालेले उक्त भ्रमहरुलाई खण्डन गर्न नसक्नु नै स्थानीय तहमा सोचे जस्तो नतिजा आउन नसकेको उनले स्वीकार गरे । उनले भने–‘एमालेको चाहना भनेको नै विकास र समृद्धि हो, आ आफ्नो ठाउँको परिवर्तन हो । यो गर्ने कुरामा हामी दावाका साथ भन्न सक्छौं कि भक्तपुरमा एमालेको नेतृत्वमा इतिहासमा कहिलै गर्न नसकेको विकास भएको छ । गुण्डुले त्यसलाई नमुनाको रुपमा प्रस्तुत गरेको छ । नेपालका जुनसुकै ठाउँबाट गुण्डु आएता पनि यहाँको हाम्रो काम देखेर प्रभावित भएर जानेछन् । सोसियल मिडियामा समेत व्यापक मात्रामा चर्चित बनेको छ ।’

पाण्डु बजारदेखी करिव ६ किलोमिटर कालोपत्रे गरिसक्ने अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले उक्त सडकमा हालसम्म ३३ करोड बजेट आएको बताए । वर्तमान सरकारले भक्तपुरमा विगतमा भएका योजनाहरु कोल्याप्स बनाएको भन्दै उनले आक्रोस जनाए । एमालेले जनतालाई आवश्यक पर्ने आयोजनाहरु ल्याएता पनि कांग्रेसलगायतका दलहरुले त्यसलाई नकरात्मक प्रचार गरी जनतामा भ्रम फैलाउने कार्य गरिरहेको भन्दै उनले आम जनता सचेत हरन आग्रह समेत गरे ।

उनले भने,‘रातो कितावमा हनुमन्ते करिडोर, मनोहरा करिडोर, अन्य असंख्य सडकहरुका बजेट समेत व्यापक मात्रामा कटौती गरेको छ । एमालेले ल्याएको बजेटलाई समयले ल्याएको हो भन्ने कांग्रेस तथा गठबन्धनका नेताहरुले अबका दिनमा भक्तपुरमा चालु आयोजनाहरुलाई सम्पन्न गराउने जिम्मा सरकारको हो कि हैन ? कुनै पनि आयोजनामा एक लाख ल्याउने हिम्मत तपाईहरुसँग छ कि छैन रु हिजो अरुले मेहनत गरेर ल्याएको बजेटलाई कुरा काट्न त सजिलो छ तर आफुले एक रुपैंया ल्याउने हिम्मत छ ?’

सरकारले १५ प्रतिशत मूल्यवृद्धि गरी जनताको ढाड सेकिएको उल्लेख गर्दै उनले निर्माण व्यवसायीमा २५ प्रतिशत मूल्यावृद्धि गरेकाले ठेगदारहरु काम छोडेर भाग्ने अवस्थामा पुर्याएको बताए । सरकारले पुँजीगत खर्च २५ प्रतिशतभन्दा बढी गर्न नसक्नुले नेपालको विकास र समृद्धिको बाधकको रुपमा स्थापीत भएको उनले बताए । उनले भने,‘गठबन्धन सरकारले छुट्याएको बजेटले सडक पिच गर्ने, ढल बनाउने, वाल लगाउने त कथा मात्र रहयो । उक्त बजेटले त अब धर्का कोर्ने, बाटोमा रुख रोप्न मात्र हुने भयो । त्यसैले कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेट विकास गर्ने हैन, सडकमा रुख रोप्ने मात्र हो । गठबन्धन सरकारले औंशीमा बोलेको कुरा पूर्णिमासम्म पनि टिक्न नसक्ने भएकाले जनताले पत्याउने छैनन् ।’

वडा अध्यक्ष रविन्द्र सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा सांसद बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस