शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको कुरा कामबाट प्रमाणित छ : रमेश लेखक


काठमाडौं, १८ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको दाबी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको कुरा कामबाट प्रमाणित भएको बताएका हुन् ।

क्लबका प्रतिनिधि ईश्वर कार्कीको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले जे उद्देश्यले सरकार गठन भएको हो अहिले सोहीअनुरुप काम भैरहेको जिकिर गरेका हुन् । उनले भने,‘अहिलेको सरकार विशेष राजनीतिक परिवेशमा, विशिष्ट जिम्मेवारी बोकेर निर्माण भएको हो । तत्कालिन नेकपाको सरकार खासगरी तत्कालि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले संविधान भत्काउने काम गरिसकेपछि, पटक–पटक प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अन्यौल र अस्थिरतातर्फ लिएर जाने काम गरेको थियो । संविधान भत्काउने काम गरेको थियो, हामीले अत्यन्तै ठूलो त्याग, तपस्या र मेहनतले बनाएको संविधान नै निश्प्रभावी हुनेगरि अघिल्लो सरकारले काम गर्न थाल्यो, त्यसको विरुद्धमा अहिलेको सरकार बनेको हो । यो पाँच दलीय गठबन्धन बनेको हो ।’

उनले वर्तमान गठबन्धनको मुख्य जिम्मेवारी भनेको संविधान रक्षा गर्नु रहेको स्मरण गर्दै अहिले सोहीअनुसार काम भैरहेको दाबी गरे । उनले भने,‘सरकारले आवधिक निर्वाचनलाई महत्व दिएको छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ, अहिले मुलुक संविधान निश्प्रभावी हुने खतराबाट जोगिएको छ । यो सरकार गठन हुँदाखेरि कोभिड–१९ बाट मुलुक आक्रान्त थियो, कोभिडको जोखिमपूर्ण अवस्था थियो । जनताको ज्यानको सुरक्षा गर्ने पहिलो जिम्मेवारी सरकारको हो । सरकारले पहिलो प्राथमिकता खोप भनेको थियो । प्रधानमन्त्रीज्यूले पनि सबै नागरिकलाई खोपको प्रतिबद्धता जनाउनुभएको थियो, त्यसअनुसार सरकार सफल भएको छ । यो सरकार पाँच वर्ष शासनसत्ता सञ्चालन गर्न गठन भएको होईन । जनताबाट पाँच वर्ष शासन गर्न गठन भएको तत्कालिन ओली सरकारले गरेका गलत काम रोक्नको लागि यो सरकार गठन भएको हो । प्रधानमन्त्री देउवाले तदअनुरुप आफ्ना काम अघि बढाउनुभएको छ । जे उद्देश्यले सरकार गठन भएको हो, त्यो काम देउवाले गरिरहनुभएको छ ।’

पूर्वमन्त्री लेखकले पार्टीको महाधिवेशन भएको ६ महिना बितिसक्दापनि विधान बनाउने, पदाधिकारी नियुक्त गर्ने र कार्यसमितिलाई पूर्णता दिने काम बाँकी रहेकोले अब छिट्टै ती काम पनि सम्पन्न गरिने विश्वास दिलाए । उनले भने,‘महाधिवेशन भएको ६ महिना भयो । विधानले ६ महिनाभित्र विधान बनाईसक्नुपर्ने, पदाधिकारी नियुक्त गरिसक्नुपर्ने, कार्यसमितिलाई पूर्णता दिनुपर्ने कुरा गरेको छ । महाधिवेशनलगत्तै हामी स्थानीय तहको निर्वाचनमा प्रवेश गर्यौं । पार्टीका केही काम गर्न ढिलाई भएको छ । विभाग गठनका कुरा, कार्यसमितिलाई पूर्णता दिने कुरा अनि पदाधिकारी लगायत सबै विषयमा केही ढलाई भएको छ । अब चाँडोभन्दा चाँडो यी काम पूरा गर्नुपर्छ । कांग्रेस अहिले सरकारको मोर्चामा पनि नेतृत्वदायी भूमिकामा छ । समग्र राजनीतिक गतिविधिमा पनि आफ्नो भूमिका सशक्त बनाएको छ । अहिले स्थानीय तहको निर्वाचनमा कांग्रेस ठूलो दल बनेको छ ।’

उनले सभापति देउवाले काम गर्न सक्नुभएन भन्ने कुरामा कुनै सत्यता नभएको जिकिर गरे । उनले भने,‘उहाँबाट सरकार र पार्टी दुवै मोर्चामा क्रियाशिलताका साथ काम भएका छन् । सरकार र पार्टीभित्र असफल भएको छ भन्ने कुरा होईन भन्ने आग्रह गर्न चाहन्छु ।’

उनले शेखर कोइराला समूहले पार्टी सभापतिबारे निकालेको निश्कर्षमा आफ्नो सहमति नभएको टिप्पणी गरे । उनले भने,‘पार्टीभित्र विभिन्न विषयमा छलफल हुने गर्छन् । विभिन्न कोणबाट साथीहरुले छलफल गर्नुहुन्छ । केही साथीहरुले सरकारले सफलतापूर्वक काम गर्न नसकेको, अनि पार्टीमा सभापतिले ठीक ढंगले काम गर्न नसकेको निश्कर्ष निकाल्नुभएको छ, त्यो निश्कर्ष पूर्ण रुपले ठीक छैन् । सरकारको हामीले ठीक ढंगले मूल्यांकन गर्नुपर्छ । जे कामको लागि सरकार गठन भएको थियो, त्यहीअनुसार काम गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महँगीको विषय छ, अन्तर्राष्ट्रिय घटनाक्रमसँग पनि जोडिन्छ । यी कमिकमजोरीलाई सुधार गरेर जानुपर्छ । कांग्रेस ठीक ढंगले नचलेको भए कसरी पहिलो दल बन्यो त ? नेतृत्व सफल भएको छ । पार्टी कमजोर र क्रियाशिल नभएको भन्ने साथीहरुको जो धारणा छ, त्यससँग सहमत हुन सकिँदैन् । सामान्य कमिकमजोरी सुधार गर्नुपर्छ ।’

उनले शेखर कोइराला समूहले भागबण्डाको राजनीति गर्न खोजेको कुरा मिडियामा आएको उल्लेख गर्दै सुरुमा कोइराला समूहले भागबण्डाको अन्त्यको आवाज उठाएको बताए । उनले भने,‘उहाँहरुले पार्टीको महाधिवेशनमा निर्वाचन लड्दा, भागबण्डाको राजनीतिक समाप्त हुन्छ भन्नुभएको थियो । अहिले अखबारमा सुनेको छु–४० प्रतिशतको भागबण्डा खोज्ने भनेर । छलफल र भेला गर्ने कुरा स्वभाविक हो । उहाँहरुको निश्कर्ष र निक्र्यौल्सँग म व्यक्तिगत रुपमा सहमत हुन सक्दिनँ ।’

उनले आगामी निर्वाचनमा कांग्रेस एकताबद्ध भएर जाने धारणा राखे । उनले भने,‘जनताले हाम्रो पार्टीसँग भरोसा गरेका छन् । कम्युनिष्ट पार्टीसँग नेपाली जनता आजित भएका छन् । दुःखी भएका छन् । चित्त दुःखाएका छन् । निर्वाचनको बेलामा मिल्ने, अनि चुनाव जितेपछि आफ्नो सरकार आँफै ढाल्ने काम पनि भएका छन् । नेकपा एमालेले सरकारमा हुँदा जुन काम गर्यो, जनता असन्तुष्ट छन् । अहिले जनताले कांग्रेसतर्फ आशा र भरोसा गरेका छन् । एकताबद्ध, संगठित र अनुशासित भएर अघि बढ्नुपर्छ । सम्भावित विवादलाई सरसल्लाह गरेर टुँगोमा पुर्याउनुपर्छ ।’

नेता लेखकले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर अघि बढ्ने बताए । उनले भने–‘केन्द्रमा गठबन्धनको सरकार छ । विभिन्न प्रदेशमा मिलीजुली सरकार छन् । स्थानीय तहको निर्वाचनमा पनि तालमेल भएको छ । आउने निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल भैरहेको छ । तर, यो छलफलले मुर्त रुप लिन सकेको छैन् । गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने सम्भावना छ ।’

 

प्रतिक्रिया दिनुहोस