आगामी चुनावमा नेकपा (एमाले) पहिलो पार्टी बन्छ : नेता झा (भिडियोसहित)


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता ई.भगवान झाले आफ्नो पार्टी राष्ट्रियता, स्वाधिनतामा संवेदनशिल भएको बताएका छन् । उनले एमालेमात्रै नेपाललाई आत्मनिर्भर बनाउने चिन्तन भएको पार्टी भएको समेत दाबी गरे ।

रिपोर्टर्स नेपालसँग कुरा गर्दै झाले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्ट भिजन र अडान बोकेको नेताको रुपमा चित्रण गरे ।

उनले ओलीकै पालामा लिपुलेक, कालापानी र लिपियाधुरा नेपालको नक्सामा समेट्न सफल भएको जिकिर गरे । ओलीले नेतृत्व गरेको सरकारलाई विभिन्न व्यक्तिहरुले ओलीलाई काम गर्न नै नदिएको समेत उनले बताए ।

एमाले केन्द्रीय सल्लाहाकार परिषदका सदस्य समेत रहेका झाले आगामी चुनावमा एमाले पहिलो पार्टी बन्ने समेत दाबी गरे । उनले भने,‘२०७४ सालको चुनावमा मधेसमा चौथोे स्थानमा रहेको एमाले अबको चुनावमा पहिलो स्थानमा आउँछ । मधेसमा नेपाली जनताले एमालेले गरेका विकास हेरेर बसेका छन् । अवश्य चुनावमा जनताले हाम्रो पार्टीलाई भोट दिन्छन् ।’ एमालेले गत स्थानीय तहको चुनावमा एक्लै लडेर पनि लोकप्रिय मत ल्याएको उनको भनाई थियो ।

उनले पार्टीले टिकट दिए आफु धनुषाको क्षेत्र ३ नम्बरबाट संघीय संसदको चुनाव लड्ने घोषणा समेत गरे । उक्त क्षेत्रका जनताले चुनावमा आफुलाई लड्न आग्रह गरेको सुनाए । माधव नेपालले पार्टी फुटाएर गएपनि पार्टीलाई केही फरक नपरेको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस