हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश


काठमाडौं । अनेकौँ उतारचढावका बीच नेपालीहरूको मोबाइल सहयात्री हाम्रो पात्रो आज १३ औँ वर्षमा प्रवेश गरेको छ । १२ वर्षपछि हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको भनाइ हाम्रो पात्रोको छ ।

सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२ वर्षपछि एक करोडभन्दा बढी नेपालीको मोबाइल परिवार बनाउला भन्ने हेक्का कसैलाई थिएन । आफ्नो व्यक्तिगत प्रयोगका लागि बनाएको एप आज हरेक नेपालीको हात हातमा हुन्छ होला भन्ने आभास त पक्कै पनि हाम्रो पात्रोका फाउण्डर शङ्कर उप्रेतीलाई पनि आभास नै थिएन होला ।

सन् २०१० मा आइओएसमा जारी गरिएको पात्रो क्रमशः सन् २०१२ मा एनड्रोइडमा रिलिज भएको थियो । एउटा नेपाली युवाले नेपाली शब्दहरूलाई डिजिटल थलोमा ल्याउनलाई गरेको सानो जमर्कोे आज आएर तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भाउदेखि टेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्मकुण्डली मिलान, रेमिटेन्ससम्मका अनेक सुविधासम्पन्न मोबाइल सहयात्री बनिसकेको छ ।

सन् २०१५ मा १० लाखभन्दा बढी डाउनलोड सीमा नाघेको हाम्रो पात्रोले त्यसै वर्षदेखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाउन थालेको थियो । सन् २०१८ मा ५ मिलियन अर्थात ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरुवात गर्यो ।

१२ औं वार्षिकोत्सव अवसरमा हाम्रो पात्रो इंक.का संस्थापक कार्यकारी निर्देशक (सीईओ) शङ्कर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

हाम्रो पात्रोले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ, म सबै प्रयोगकर्तालाई उहाँहरूको विश्वासका लागि आभार व्यक्त गर्दछु । यी डाउनलोडका सङ्ख्याहरु हाम्रा लागि विश्वास र सहयात्री हुन । हामी थप जिम्मेवार र विश्वासिलो बन्ने प्रणका साथै अघि बढ्दै गयौँ र हाम्रो पात्रोको १२ औँ वर्षसम्म यो यस यात्रामा हामी यहाँहरू सबै जनालाई हार्दिक साधुवाद र अझै सयौँ वर्षसम्म डिजिटल र अर्थपूर्ण सहयात्रा गर्ने वाचा गर्न चाहन्छौँ । सम्पूर्ण प्रयोगकर्ताहरू, विज्ञापनदाता, साझेदार र सहकर्मीहरूमा हार्दिक नमन ।’’

सन् २०१९ मा हाम्रो पात्रो मार्फत मोबाइल रिचार्ज सेवा पनि प्रदान गर्न थालियो । सन २०२० मा इ कमर्स पनि जोड्दै हाम्रो पात्रोले सन २०२१ मा रेमिटेन्स र टेली हेल्थ सुविधा पनि थप्यो । सन २०२२ मा हाम्रो पे पनि थप्दै हाम्रो पात्रो वास्तवमा नै एउटा सबथोक भएको सर्वाधिक विश्वासिलो र नेपाली मोबाइल सहयात्री बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस