जगदम्बा इन्टरप्राइजेजले जोड्यो अठचालीस मेगावाट बिजुली


काठमाडौँ । जगदम्बा इन्टरप्राइजेज नेपालको सबैभन्दा ठूलो विद्युत् खपतकर्ता बनेको छ। औद्योगिक उत्पादनका लागि हालसम्म चार मेगावाट खपत गरिरहेको सो उद्योगले अब ४८ मेगावाट विद्युत् खपत गर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारण लाइनमार्फत बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजलाई ४८ मेगावाटसम्म विद्युत् दिने भएको छ। बिहीबार थप विद्युत् आपूर्तिका लागि उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभीए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ।

उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्विच यार्ड बनाएको हो। प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्विच यार्डको परीक्षण तथा सञ्चालन गरिएको हो।

वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठका अनुसार योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत् आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको छ। थप ४४ एमभीए लोड दिन लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमशः स्वीकृति लोडबमोजिम थप विद्युत् दिन सुरु गरिएको उहाँले जानकारी दिनुभयो। स्वीकृत लोडअनुसार विद्युत् खपत गरेमा सो उद्योगले मासिक करिब २० करोड रुपियाँसम्म महसुल भुक्तान गर्नुपर्ने हुन्छ।

जगदम्बाले सन् २००१ देखि स्टिलजन्य सामग्री डन्डी, पाइपलगायतका सामग्री उत्पादन गर्दै आएको छ। वार्षिक तीन लाख ६२ हजार ४६० मेट्रिक टन डन्डी उत्पादन क्षमता रहेको सो उद्योगले विदेशबाट स्पन्ज आइरन आयात गरी डन्डी उत्पादन गर्छ। यो उद्योगले ‘जगदम्बा’ र ‘जागशक्ति’ ब्रान्डमा विभिन्न आफ्ना उत्पादनलाई ब्रान्डिङ गर्दै आएको छ।

उद्योगले सन् २०२१ मा १४ अर्ब दुई करोड ६० लाख रुपियाँको व्यापार गरेको थियो। सन् २०२० मा कम्पनीको व्यापार १४ अर्ब ९८ करोड १० लाख रुपियाँ बराबरको थियो।

जगदम्बाले डन्डी, पाइप, आइरन पाइप, एचआर स्ट्रिप्स, सटर प्रोफाइल, सटर गाइड, सटर स्प्रिङ, लक प्लेट, प्रिफ्याब्रिकेटेड बिल्डिङ कम्पोनेन्टलगायत अन्य विभिन्न स्टिलका पोल उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस