कलाकार एलिजा गौतम नागरिक उन्मुक्तिमा प्रवेश


काठमाडौं । मोडल तथा कलाकार एलिजा गौतम शनिबार नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । रुपन्देहीमा भएको एक कार्यक्रममा उहाँ सो दलमा प्रवेश गर्नुभएको हो । उहाँलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीका तथा खादा लगाएर पार्टीमा प्रवेश गराउनुभयो ।

नागरिक उन्मुक्तिले लिएको विचार र नागरिक सेवाको भावनाबाट प्रभावित भएर आफू सो दलमा प्रवेश गरेको गौतमको भनाइ छ । नागरिकको सेवाका लागि पार्टीले लिएको उद्देश्य पूरा नहुन्जेल विश्राम नलिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

“मेरो राजनीतिक प्रवेशले समाज र देशप्रतिको मेरो दायित्वबोध गराएको अनुभूति गरेकी छु । म सेवाको भावले नै राजनीतिमा हाम फालेकी हुँ” सम्बोधनको क्रममा उहाँले भन्नुभयो, “म आफूलाई खरो रूपमा प्रस्तुत गर्नेछु । भुईँमान्छेहरुका आवाजलाई बुलन्द बनाउनु हामी सबैको कर्तव्य हो ।”

सो अवसरमा सो दलका अध्यक्षसहित पदाधिकारी तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको उन्मुक्तिका नेता धर्मबहादुर चौधरीले जानकारी दिनुभयो । कलाकार गौतम पत्रकार ऋषि धमलाका श्रीमती हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस