जागिर खाएर ड्यूटीमा बसेका मान्छेको टाउको फुटाउने आतंककारी हुन् : अध्यक्ष ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्धको आक्रमणको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टीका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन् । उनले कोशी प्रदेशविरुद्ध आन्दोलनका क्रममा आफू र प्रहरी सुरक्षाकर्मीमाथिको भौतिक हमलामा माओवादी र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ता संलग्न रहेको दाबी गरेका हुन् ।

आज (बुधबार) पार्टीको इलाम जिल्ला अधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठक उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । हिजो इलाम जाने क्रममा पूर्वप्रधानमन्त्री ओलीलाई आन्दोलनकारीले अवरोध प्रयास गरेका थिए । सोही विषयमा ओलीले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले अध्यक्ष ओलीले आफूहरुमाथिको आक्रमणको प्रतिकार गर्नुपरे मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने पनि चेतावनी दिए ।

उनले भने,‘हिजो ढुंगामुढा गर्ने ज्यान मार्ने उद्योग गर्नेहरू को हुन् ? प्रदेशको नाम के राख्ने कोशी राख्ने कि सगरमाथा राख्ने ? ड्यूटीमा खटिएको प्रहरी हवल्दारलाई के मतलब ? जागिर खाएर ड्यूटीमा बसेका मान्छेको टाउको फुटाउने आतंककारी हुन् । अर्को हवल्दारको हड्डी भाँचिएको छ । यो राजनीति हो ? यिनीहरूले हो कोशी प्रदेश बनाएको ? यी मान्छेहरूलाई समाउँदा प्रचण्ड र माकुनेका मान्छे कुदेर पुगेछन् छुटाउँछौ भन्दै ।’

प्रतिक्रिया दिनुहोस