उपनिर्वाचनको परिणामलाई हेरेर लोकतन्त्र र व्यवस्थाप्रति वितृष्णा बढेको मान्न सकिदैन : उपमहासचिव ज्ञवाली


काठमाडौं, १५ वैशाख । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले गठबन्धन र भागबन्डाका कारण जनतामा व्याप्त निराशाको लाभ राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको बताएका छन् ।

‘उपनिर्वाचनमा मतदाताको मनोविज्ञानमा केही न केही परिवर्तन अवश्य आएको छ । राजनीतिक दलहरुले सेवामुखी र जनमुखी हुनुपर्ने सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । गठबन्धन र भागबन्डाका कारण सिर्जित जनताको निराशालाई रास्वपाले क्यास गरेको छ । तर उसले पनि बाचा अनुसार काम गर्ने सम्भावना कम छ । त्यसले झन् निराशा पैदा हुने स्थिति आउँछ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै ज्ञवालीले भने ।

तत्काल कांग्रेस र एमालेको विकल्पमा रास्वपा आएको निष्कर्षमा पुग्न नसकिने पनि उनले औंल्याए । ज्ञवालीले थपे, ‘रास्वपाले दुई निर्वाचन क्षेत्रमा ठूलो सफलता पायो । तर बारामा उसको निकै कम मत आयो । त्यसैले अहिले नै कांग्रेस र एमालेको विकल्पमा आयो भन्ने निष्कर्षमा पुग्न सकिँदैन ।’ उपनिर्वाचनको सन्देशलाई लिएर झापामा हुने पार्टीको केन्द्रीय समितिमा गम्भीरतापूर्वक छलफल हुने पनि उनले बताए ।

उपनिर्वाचनको परिणामलाई हेरेर लोकतन्त्र र व्यवस्थाप्रति वितृष्णा बढेको मान्न नसकिने उनको जिकिर छ । ज्ञवालीले भने,’ निराशाको जरा खोज्दै जाने हो भने धेरै कारण होलान् । तर विगत ३० वर्षमा व्यवस्था मात्र होइन, अवस्था पनि परिवर्तन भएको छ । जनताको जीवनसँग जोडेर काम गर्ने सवालमा समस्या भएकाले त्यसको लाभ नयाँ दलले उठाएको हो ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उल्टो बाटोमा हिँडिरहेको पनि उनले औंल्याए । ज्ञवालीले भने, ‘प्रचण्ड आज भारत जान्छु, भोलि भारत जान्छु भनेर गीत गाइरहनुभएको छ । उत्तरतिर ओहदाको प्रमाणपत्र बुझ्नै ८ महिना लाग्यो । हिजो एकातर्फी रुपमा जनयुद्ध दिवस मनाउनुभयो, सहिद घोषणा गर्नुभयो र आज आफ्नो पक्षबाट लडेकालाई मात्र राहत दिँदै जाने हो भने समस्या आउँछ । मुलुकले वृद्धभत्ता र स्वास्थ्य बिमा दिन नसकेका बेला यस्तो काम गर्न मिल्दैन ।’

प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमाले सहमत हुँदा निर्वाचन प्रणालीमा सुधार सम्भव हुने पनि ज्ञवालीले बताए । उनले भने, ‘हाम्रो निर्वाचन प्रणालीमा गम्भीर समस्या देखिए । समानुपातिकको व्यवस्था जुन तहका लागि गरिएको हो, त्यसको लाभ सीमान्त समुदायभन्दा पनि टाठाबाठाले मात्र लिए । अब त्यसमा सुधार खोज्नु जरुरी छ ।’ साथै उनले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्नुमा एमालेलाई मुछ्न नमिल्ने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस