मेरा पिकमा फसेका पाँच आरोही तथा पदप्रदर्शकको उद्धार

मेरा पिकमा फसेका पाँच आरोही तथा पदप्रदर्शकको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले सोलुखुम्बुको मेरा पिक (६,४७० मिटर) आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये चार विदेशी र एक जना नेपाली पथप्रदर्शकलाई उद्धार गरी काठमाडौँ ल्याएको जनाएको छ । एनएमएका अध्यक्ष सन्तवीर लामाले एक विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनको खराब मौसमका कारण मेरा पिक आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये स्वदेशी आरोही तथा स्वदेशी पथप्रदर्शकलाई सम्बन्धित कम्पनीको पहलमा उद्धार गरी काठमाडौँ ल्याइएको जानकारी गराउनुभएको हो ।

एनएमएबाट आरोहण अनुमति लिएर मकालु एडभेन्चार प्रालिमार्फत आरोहणका लागि गएका उहाँहरु सबैको अहिले काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । पिक आरोहण गरी फर्कँदै गर्दा खराब मौसम र ठूलो हिमपातका कारण बाटोमै रोकिएका शेर्पा इभेन्ट्स अर्गनाइजरका सदस्यहरुलाई पनि खोजीका लागि पैदल गएको टोलीले सुरक्षितरूपमा लुक्ला ल्याएको छ ।

यस्तै एड्भेन्चर भिक्टोरी टिममार्फत आरोहणका लागि गएको उक्त टोलीको एक सदस्य छेतेन शेर्पा भने पछिल्लो चार दिनदेखि सम्पर्कविहीन रहेका र एनएमएले सम्बन्धित कम्पनीसँगको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, जिल्ला प्रशासनका कार्यालय सोलुखुम्बु, नेपाल प्रहरी र नेपाली सेनासँगको समन्वयमा खोजी जारी राखेको जनाइएको छ । टोलीनेता नुरु शेर्पा र क्लाइम्बिङ गाइड कामी शेर्पाको नेतृत्वमा उहाँको पैदलयात्रामार्फत पनि खोजी जारी छ ।

यो पनि – दोदाको बाढीले जग्गा कटान तीव्र पार्दै

बेमौसमी वर्षाका कारण दोदा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका–१२ तिलकीमा जग्गा कटान तीव्र बनाएको छ । नदीको बहाव उच्च बनेपछि स्थानीय बासिन्दाको जग्गा कटानसँगै लगाएको धानबाली, उखु र केराखेतीमा क्षति पु¥याएको छ ।

नदीले हालसम्म स्थानीय बासिन्दाको १० कठ्ठाभन्दा बढी जग्गा बगाएर बगरमा परिणत गरेको छ । स्थानीय बासिन्दा लोकेन्द्र रानाको पाँच कठ्ठा जग्गामा लगाइएका केराका बोट जग्गा कटानसँगै बगेका छन् । “दुई कठ्ठा जग्गामा लगाएको केराका बोट पसाउनै लागेका बेला जग्गासँगै बगेका छन्”, रानाले भन्नुभयो, “रु ४० हजार खर्च गरेर केराखेती गरेको थिएँ, जग्गासँगै केराखेती नदीमा बग्यो ।” नदी बस्तीसम्मै पुग्न थोरै मात्र बाँकी रहेको उहाँले बताउनुभयो ।

अर्का किसान मङ्गलप्रसाद चौधरीको समेत उखु लगाएको छ कठ्ठा जग्गा नदीले कटान गरी बगाएको छ । बेच्नका लागि तयारी अवस्थामा रहेको अर्लिजातको कात्तिके उखु जग्गासँगै बगेको उहाँले बताउनुभयो । यस क्षेत्रका सात किसानको खेती गरेको जग्गा नदीले बगाएको छ । पानी पर्ने क्रम रोकिए पनि नदीको बहाव उच्च रहेकाले जग्गा कटान भइरहेको छ ।

रेडक्रसको सहयोगमा दुई वर्षअघि नदीको कटान रोक्न बनाइएको बाँसको तटबन्ध बगेपछि नदीले कटान तीव्र पारेको स्थानीय किसानको भनाइ छ । नदी नियन्त्रणको प्रयास नभए अर्को वर्षात्का बेला पूरै बस्ती विस्थापनमा पर्ने सम्भावना प्रवल रहेको स्थानीयवासी लक्ष्मण रानाले बताउनुभयो । “नदीले जग्गा कटान गरिरहेको भए पनि कुनै निकायल चासो दिएका छैनन्”, रानाले भन्नुभयो, “हाम्रो पीडा सुन्ने कोही छैन, यस्तै रहे केही वर्षमै बस्ती नै छाडेर जानुपर्ने हुन्छ ।”

स्थानीय बासिन्दाले नदीमा भरपर्दो तटबन्ध निर्माण गर्न वर्षौँदेखि माग गर्दै आए पनि बेवास्ता हुँदै आएको छ । नदीको गुरुयोजनाअन्तर्गत तटबन्ध निर्माण हुने भनेर आश्वासन दिइने भए पनि तटबन्ध निर्माण भने नहुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । यसअघि वर्षात्का बेला समेत यस क्षेत्रका बासिन्दाको दुई बिघाभन्दा बढी जग्गा नदीले कटान गरी बगाएको थियो ।